काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाको जिल्ला कार्यसमितिसहित जिल्लाभरका सबै स्थानीय तहका कमिटीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
पार्टी केन्द्रले जिल्लाको भावना र पार्टीले नै तय गरेको विधि मिचेर उम्मेदवार छनोट गरेको आरोप लगाउँदै उनीहरूले सामूहिक रूपमा पदत्याग गरेका हुन्। पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा केन्द्रले मनोमानी गरेको उल्लेख गरिएको छ।
राजीनामा पत्रमा अवेयर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई ‘घण्टी’ चुनाव चिह्नका साथ साझा उम्मेदवार बनाउने विषयमा जिल्लास्तरमा व्यापक राजनीतिक सहमति भइसकेको दाबी गरिएको छ। तर पार्टी केन्द्रले उक्त सहमतिको उपेक्षा गर्दै जिल्ला र प्रदेश समितिको भावना विपरीत अमूक व्यक्तिलाई उम्मेदवारको टिकट दिएको उनीहरूको आरोप छ।
पत्रमा भनिएको छ, “पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला र प्रदेश समितिको भावनाविपरीत टिकट वितरण गर्दा पार्टीको विधिमाथि गम्भीर प्रश्न उठेको छ। यसले तेह्रथुमको जनभावना र राजनीतिक सहमतिमा गहिरो चोट पुर्याएको छ।
सामूहिक राजीनामा दिनेहरूमा जिल्ला कार्यसमिति सभापति इन्जिनियर सुमन खत्री, म्याङलुङ नगरपालिकाका संयोजक गणेश खापुङ, लालीगुराँस नगरपालिकाका सभापति सुमन लिम्बु, मेन्छ्यायेम गाउँपालिकाका संयोजक छात्रबहादुर थापा, छथर गाउँपालिकाका सचिव विष्णु एस. कटुवाल, फेदाप गाउँपालिकाका संयोजक लक्ष्मण थापा तथा आठराई गाउँपालिकाका सभापति चेतन गौतम रहेका छन्।
त्यस्तै, तेह्रथुम–काठमाडौं सम्पर्क विभागका संयोजक गुणनिधि दाहालसहित जिल्लाका सबै पालिका तथा वडा कमिटीका पदाधिकारीहरूले पनि सामूहिक रूपमा राजीनामा दिएका छन्। केन्द्रसँग भएको सहमति कार्यान्वयन गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिँदै आफूहरूले पदबाट राजीनामा दिएको उनीहरूको भनाइ छ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया