काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले यसपटकको चुनावी दौडबाट बाहिर रहने र जनताको पक्षमा उभिएर प्रश्न सोध्ने भूमिकामा सक्रिय रहने बताएकी हुन्।
उनले चाहेको खण्डमा कुनै दलको जिम्मेवार पद सम्हाल्न वा कुनै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न सक्ने भए पनि त्यसो गर्नु आफ्ना आदर्शविपरीत हुने ठानेको उल्लेख गरेकी छन्।
श्रेष्ठले लेखेकी छन्, “म चाहन्थेँ भने कुनै अमुक दलको जिम्मेवार पद अथवा कुनै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न सक्थेँ। तर त्यो गर्नु भनेको मैले मेरो आदर्श गुमाउनु हो जस्तो लाग्यो। त्यो मबाट हुँदैन।”

advertisement

आफूलाई चुनाव लड्न आग्रह गर्दै फोन र इमेलमार्फत सम्पर्क गर्ने शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले क्षमा पनि मागेकी छन्। “यसपटकको निर्वाचनमा म नेताजी भएर होइन, जनता भएर रहन चाहन्छु र जनतासँगै बसेर देशको सेवा गर्न चाहन्छु,” उनले भनेकी छन्।
श्रेष्ठले इतिहासमा धेरै नेताहरूले गरेका प्रतिबद्धता पूरा नभएको स्मरण गराउँदै यसपटकको निर्वाचनमा जनताले पुराना बाचाहरूको साँवा मात्र नभई ब्याजसहित हिसाब माग्नुपर्ने बताएकी छन्। दलहरूले चुनावी घोषणापत्रमा गर्ने प्रतिबद्धताप्रति सचेत रहन आग्रह गर्दै उनले ‘कसरी ?’ भन्ने प्रश्न सोध्न अपिल गरेकी छन्।
“भ्रष्टाचार निर्मूल पार्छु भन्नेलाई कसरी भनेर सोधौँ, निःशुल्क शिक्षा र स्वास्थ्य दिन्छु भन्नेलाई कसरी र कहिलेसम्म भनेर सोधौँ,” उनको भनाइ छ।

सडक र सदनमा रहँदा सधैँ देश र जनताको हितमा आवाज उठाउँदै आएको उल्लेख गर्दै श्रेष्ठले पदमा नरहे पनि सही प्रश्न सोधिरहने र निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले भाषण, गाली र घृणाको राजनीति त्यागेर समस्याको चुरो पहिचान गर्दै समाधान केन्द्रित बहस गर्न सबैलाई आग्रह गरेकी छन्।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com