काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन्। डडेल्धुराबाट विसं २०४८ सालदेखि लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका देउवा यसपटक फागुन २१ गते हुने चुनावमा उम्मेदवार नहुने भएका हुन्।
उनका स्वकीय सचिव भानु देउवाका अनुसार देउवाले अब प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका छन्। “उहाँले प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने निर्णय गर्नुभएको हो,” उनले बताए।
देउवा विसं २०७२ र २०७८ मा लगातार नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए। जेन–जी आन्दोलनपछि उनी राजनीतिक रूपमा निष्क्रिय बनेका थिए र पार्टीको जिम्मेवारी कार्यवाहक सभापतिको रूपमा पूर्णबहादुर खड्कालाई सुम्पिएका थिए।
महाधिवेशनसम्बन्धी विवादपछि २७ पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। हाल थापा नेतृत्वको टोलीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारी अन्तिम टुंगो लगाइरहेको छ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया