काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ।

आयोगका अनुसार प्राप्त उजुरी तथा मनोनयन पत्रमाथि जाँचबुझ गरी आवश्यक निर्णय गर्दै माघ ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। हालसम्म कुल दुई हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी निर्वाचनका बाँकी कार्यक्रमहरूमा पनि सबैको सहयोग रहने अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार उम्मेदवारमध्ये तीन सय ३६ जना महिला र दुई हजार पाँच सय ८९ जना पुरुष छन्। यस्तै अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com