कालिकोट । कालिकोटमा चुनावी माहोल एकाएक फेरिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रको किल्ला मानिँदै आएको यस जिल्लामा यसपटक नेकपाकै जीवन बुढाले कडा चुनौती प्रस्तुत गरेका छन्।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाहीका लागि जीवन बुढाको उम्मेदवारी चुनौतीपूर्ण बन्ने आँकलन गरिएको छ। लगातार चौथोपटक संसद प्रवेश गर्ने शाहीको लक्ष्य यसपटक अवरुद्ध हुन सक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।
नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले टिकट पाएपछि पार्टीभित्र विवाद चुलिएको हो। शाही र बुढा दुवै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र मानिन्छन्। जीवन बुढा प्रचण्डको सचिवालय हुँदै राष्ट्रियसभाका सदस्य भइसकेका छन् भने शाही २०७० सालदेखि निरन्तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जित्दै आएका छन्।
सुरुमा जीवन बुढाले टिकट पाउने चर्चा रहे पनि शाहीले प्रचण्डलाई कालिकोटबाटै उम्मेदवार बनाउने प्रस्ताव गर्दै प्रचण्डको नाममा एकल सिफारिस गरेका थिए। तर प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दिने निर्णय गरेपछि कालिकोटमा आन्तरिक विवाद थप चर्किएको थियो। मनोनयनको अन्तिम समयमा महेन्द्र शाहीको नाममा टिकट आएपछि जीवन बुढाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि बुढाले पार्टीभित्रको अन्याय र अवसरबाट वञ्चित गर्ने प्रवृत्तिविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए।
‘यो पार्टीभित्रको अन्यायविरुद्धको आवाज हो,’ उनले भने, ‘कार्यकर्तालाई दास बनाउन खोज्ने प्रवृत्तिविरुद्धको लडाइँ हो।’
यस्तै, नेपाली कांग्रेसबाट टिकट नपाएपछि कांग्रेस नेता भुपेन्द्रजंग शाहीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएका शाही यसपटक टिकटबाट वञ्चित भएका हुन्। कांग्रेसको आन्तरिक समिकरण फेरिएसँगै पूर्व पार्टी सभापति हर्षबहादुर वमले टिकट पाएका छन्।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार













प्रतिक्रिया