काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारी गरेको जानकारी पाएपछि नेकपा एमालेको रणनीतिमा एकाएक परिवर्तन आएको छ। सो क्षेत्रबाट उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका एमालेका उम्मेदवारलाई समेत फिर्ता बोलाइएको छ।

मंगलबार उम्मेदवारी दर्ताको अन्तिम दिन सर्लाही–४ बाट एमालेको टिकट पाएका रविशंकर कुशवाहा निर्वाचन कार्यालय पुगिसकेका थिए। तर कांग्रेस सभापति थापा सोही क्षेत्रबाट उम्मेदवार बन्ने संकेत पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाहालाई तत्काल उम्मेदवारी नदिन निर्देशन दिएका थिए। त्यसपछि ओलीले एकाएक टिकट परिवर्तन गर्दै अमनिश कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। सो निर्णयसहितको पत्र निर्वाचन कार्यालयमा पठाइएको जनाइएको छ।

advertisement

अमनिश कुमार यादव नेपाली कम्युनिस्ट पार्टीका नेता शिवपुजन रायका छोरा हुन्। शिवपुजन रायले यसअघि आफ्ना छोरालाई नेकपाबाट टिकट दिलाउन प्रयास गरे पनि सफल नभएपछि पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए। उनी छोरा अमनिशसहित सोमबार मात्र एमालेमा प्रवेश गरेका हुन्।

यता, गगनकुमार थापा मधेश केन्द्रित चुनावी गतिविधिमा सक्रिय भएपछि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पनि राजनीतिक समीकरण फेरिएको छ। यसअघि थापासँग दुईपटक पराजित भइसकेका डा. राजन भट्टराई फेरि उम्मेदवार बनेका छन्। सोमबारसम्म भट्टराई उम्मेदवारी दिन इच्छुक नभए पनि मंगलबार एकाएक तयार भएका हुन्।

एमाले सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार शनिबार नै टुंग्याए पनि काठमाडौं–४ को उम्मेदवार तय गर्न बाँकी राखिएको थियो। अध्यक्ष ओलीले भट्टराईलाई नै उम्मेदवार बनाउन चाहेका भए पनि पराजयको आशंकाका कारण भट्टराई अनिच्छुक रहेको स्रोतको भनाइ छ। तर कांग्रेस सभापति थापा मधेशतिर केन्द्रित भएपछि काठमाडौं–४ मा जितको सम्भावना देखिएको भन्दै भट्टराई उम्मेदवारी दिन तयार भएको बताइएको छ। एमालेले काठमाडौं–४ को उम्मेदवार मंगलबार नै औपचारिक रूपमा टुंगो लगाएको हो।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com