काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यस पटकको प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ रोजेका छन्। यसअघि लगातार तीन पटक जित हासिल गरेको काठमाडौं–४ छाड्दै थापा सर्लाही–४ बाट मैदानमा उत्रिएका हुन्।
काठमाडौं–४ मा उनले सचिन तिमल्सेनालाई उम्मेदवार बनाएका छन् भने सर्लाहीमा मधेश प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका छन्। थापा भोलि मात्रै आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारीमा छन्।
सर्लाही–४ मा गगन थापाको मुख्य प्रतिस्पर्धी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह हुने देखिएको छ। कांग्रेसबाट टिकट नपाएपछि बागी उठेर जितेका सिंह यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लडिरहेका छन्।
यो क्षेत्रमा कांग्रेसका गगन थापा र रास्वपाका अमरेश सिंहसहित नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनीश यादव, जसपा नेपालबाट रामेश्वरराय यादव र एमालेबाट रविशंकर कुशवाहा पनि चुनावी प्रतिस्पर्धामा छन्।
गत निर्वाचनमा अमरेश सिंहले २० हजार १७ मत ल्याएर जित्दा कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३ मत प्राप्त गरेका थिए। त्यस बेला स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन्।
हाल रास्वपामा काठमाडौंका पूर्वमेयर बालेन शाह प्रवेश गरेपछि रास्वपाले ‘मधेश पुत्र’को नारासहित अमरेश सिंहलाई अघि सारेको छ। यही कारण गगन थापाको मुख्य चुनौती सिंह नै हुने विश्लेषण गरिएको छ। यद्यपि, अघिल्ला निर्वाचनका समानुपातिक र प्रत्यक्ष मत परिणाम हेर्दा कांग्रेसको आधार बलियो देखिन्छ।
२०७४ को निर्वाचनमा पनि एमाले–माओवादी गठबन्धन हुँदाहुँदै कांग्रेसकै उम्मेदवार सिंहले जित हासिल गरेका थिए। त्यसैले अघिल्ला मत परिणाम र राजनीतिक आधारको विश्लेषण गर्दा सर्लाही–४ मा गगन थापाको जित सहज हुने अनुमान गरिएको छ। अमरेश सिंहले जित दोहोर्याउन यस पटक मत परिणाममा ठूलो उलटफेर आवश्यक पर्ने देखिन्छ।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार













प्रतिक्रिया