काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका तीन हजार ४८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार देशभरका निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता नपुगेको दाबी गर्दै पाँचवटा उजुरी दर्ता भएका हुन्।
प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ अनुसार सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दर्ता गरिएको आयोगले जनाएको छ। दर्ता भएका उजुरीलाई निर्देशिकाको अनुसूची १७ बमोजिम दर्ता किताबमा समावेश गरी अनुसूची १८ अनुसारको भरपाइ उजुरीकर्तालाई प्रदान गरिएको छ।
निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ताको म्याद समाप्त भएपछि निर्वाचन अधिकृतले दर्ता भएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशन गरेका छन्। जसका विरुद्ध उजुरी परेको हो, ती उम्मेदवारले तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था छ।
आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ र निर्णय गरिनेछ। माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय तोकिएको छ।
त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म दर्ता भएका उम्मेदवारमध्ये पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन्।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार













प्रतिक्रिया