काठमाडौँ । कलाकार ज्योति मगरले आगामी निर्वाचनमा नयाँ वा पुराना दल वा अनुहारभन्दा बढी राष्ट्र, स्वाधीनता र दीर्घकालीन विकासको स्पष्ट भिजन बोकेको उम्मेदवारले जित्नुपर्ने धारणा सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो मत व्यक्त गर्दै उनले देशलाई कुनै बाह्य शक्तिको प्रयोगस्थल बनाउन नहुनेमा जोड दिइन्।

मगरले हालसालै प्रचलित “पुराना सकियो, नयाँलाई मौका दिऔँ” भन्ने नारामाथि प्रश्न उठाउँदै केवल नयाँ हुनु मात्र समाधान नभएको संकेत गरेकी छन्। नाम नलिइकनै उनले भिजनविहीन, उत्तेजना फैलाउने र भ्रम सिर्जना गर्ने प्रवृत्तिप्रति चेतावनी दिँदै यस्ता अभ्यासले राष्ट्रलाई कमजोर बनाउने उल्लेख गरिन्।

advertisement

उनले नेपालको इतिहासलाई स्मरण गर्दै भनिन् कि देश गरिब हुन सक्छ तर कहिल्यै कसैको गुलाम नभएको स्वाधीन राष्ट्र हो। उनले विदेशी प्रभाव, शक्ति केन्द्र र एजेन्डाबाट देशलाई जोगाउनुपर्नेमा जोड दिँदै गालीगलौज, भड्काव र अविवेकपूर्ण राजनीतिले देशलाई झुकाउने काम नगर्न आग्रह गरिन्। उनका अनुसार निर्वाचन ‘नयाँ–पुराना’ को बहसमा सीमित हुन नहुने र राष्ट्रवादी सोच, स्वाधीनता र विकासप्रति दृढ प्रतिबद्धता देखाउने उम्मेदवारले जनमत जित्नुपर्ने हो।

अन्त्यमा उनले देश कुनै पनि बाह्य शक्ति वा एजेन्डाको प्रयोगशाला नभएको स्पष्ट पार्दै राष्ट्र र राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गर्न जनता समक्ष अपिल गरिन्।

उनी भन्छिन्, “जनताले उत्तेजक र अराजक खबर फैलाउनेहरूलाई चिन्नुपर्छ। खबर्दार! भिजन नभएका अविवेकशीलहरूले गालीगलौच, उत्तेजना र भ्रम फैलाएर देश जलाउने, देश सकाउने र देश झुकाउने काम नगरुन्। यो देश नयाँ वा पुराना, भारत, अमेरिका, ‘रअ’, ‘सिआइए’ वा फ्री तिब्बतले प्रयोग गर्ने प्रयोगशाला होइन।”

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com