काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी आर्थिक कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले कारोबार भइरहेको उल्लेख गरे। गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमका रूपमा केही निकायहरू प्रयोग भइरहेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न नगद कारोबारको सीमा घटाइएको उनले बताए।
उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले अन्य निकायहरूको तुलनामा अहिलेसम्म अपेक्षाकृत राम्रो काम गरिरहेका भए पनि अझै सजग र सावधान हुनुपर्ने आवश्यकता छ।
अर्थमन्त्री खनालले आर्थिक प्रणालीलाई समयानुकूल बनाउँदै फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतर्फ र फिजिकल बैंकिङ पहुँचबाट भर्चुअल बैंकिङ पहुँचतर्फ जानुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै, धितोमा आधारित कर्जाको सट्टा उद्यमशीलता, क्षमता तथा आय आर्जन गर्ने क्षमतामा आधारित लगानी प्रणाली विकासका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको जानकारी पनि उनले दिए।
वित्तीय क्षेत्र हाल अत्यन्त कमजोर अवस्थामा नरहे पनि समय–समयमा विभिन्न कारणले समस्या देखिनु स्वाभाविक रहेको उनले बताए।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया