काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्य अनिश्चित रहेको टिप्पणी गरेका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ दलहरूको राजनीतिक यात्राप्रति प्रश्न उठाए। उनले नारायणगोपालको गीत स्मरण गर्दै नयाँ दलहरूको दिशाहीनतालाई संकेत गरे।
‘सायद नारायणगोपालले गाउनुभएको होला— भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन,’ ओलीले भने, ‘नयाँ भनिएका दलहरूको यात्रा पनि त्यस्तै छ। भोलि कहाँ जाने हो, त्यो नै थाहा छैन।’
अध्यक्ष ओलीले आफूले नयाँ दलका एक नेताको सामाजिक सञ्जालमा लेखिएको स्टाटस देखेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए। उक्त स्टाटसमा आफूलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति लेखिएको दाबी गर्दै उनले त्यसलाई राजनीतिक परिपक्वताको अभावका रूपमा व्याख्या गरे।
‘एउटा स्टाटस मैले देखेको थिएँ, नयाँ दलका व्यक्तिले लेखेका थिए— केपी ओली महत्त्वपूर्ण भएकाले माटोमुनि गाडिदिनुपर्छ,’ ओलीले भने, ‘कस्तो सोच, कस्तो बुद्धि र कस्तो राजनीति भन्ने कुरा यसबाट बुझ्न सकिन्छ।’
उनले अहिले देश ‘बनाउने’ र ‘बिगार्ने’ प्रवृत्तिबीचको संघर्षमा रहेको दाबी गरे।
‘मान्छेलाई ज्युँदै गाडिदिने जस्ता सोचहरू कति गम्भीर छन्, हेर्नुस्,’ ओलीले भने, ‘अहिले देश बनाउने र देशलाई नोक्सान पुर्याउने शक्तिबीच लडाइँ चलिरहेको छ। हामी देश निर्माणको बाटोमा लाग्नुपर्छ।’
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया