काठमाडाैं । सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ।

पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

advertisement

लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थायी बासिन्दा हंसुको अवस्था सुरुमा सामान्य रहेको परिवारजनको भनाइ छ। तर औषधालयमा इन्जेक्सन लगाएपछि उनको स्वास्थ्य अचानक बिग्रिएको र केही समयमै अर्को इन्जेक्सन लगाइएपछि अवस्था झनै जटिल बन्दै गएर मृत्यु भएको पीडित पक्षले जनाएको छ।

बिरामीको अवस्था गम्भीर बनेपछि उनलाई नवलपुरबाट हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।

आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए भने अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

उक्त आयुर्वेद औषधालय अवैध रहेको बताइएको छ। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ। घटनासँग सम्बन्धित अनुसन्धानका लागि मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साहलाई प्रहरी नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com