सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सामूहिक राजीनामा दिएका छन्। केन्द्रमा भएको सत्ता समीकरण र प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने पूर्वसहमतिअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले उनीहरूले पद त्याग गरेका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजया बुढा रहेका छन्। उनीहरू २०८१ साल साउनदेखि एमाले नेतृत्वको सरकारमा सहभागी हुँदै आएका थिए।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मुख्यमन्त्रीलाई भेटेरै राजीनामा पत्र बुझाइएको जानकारी दिँदै प्रदेश सरकारका कामकारबाही प्रभावकारी रूपमा अघि बढून् भन्ने अपेक्षासहित नयाँ नेतृत्वका लागि बाटो खुला गरिएको बताए।
यसअघि बुधबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका मन्त्रीहरू सहभागी भएनन्। बैठकअघि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वनमन्त्री सुरेश अधिकारी र सामाजिक विकासमन्त्री भण्डारीले बैठक बहिष्कार गर्दै राजीनामा बुझाएका थिए। आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह विदेश भ्रमणमा रहेकाले अनुपस्थित थिए भने ऊर्जामन्त्री विजया बुढाले पनि बैठकमा सहभागी नभई राजीनामा दिएकी थिइन्।
हाल कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त गठबन्धन सरकार सञ्चालनमा छ। सरकारमा एमालेबाट मुख्यमन्त्री यामलाल कँडेलसहित दुई मन्त्री र एक राज्यमन्त्री छन्। गठबन्धन दलबीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने आन्तरिक सहमति यसअघि नै भएको थियो।
कांग्रेसले उक्त सहमतिअनुसार नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउन सरकारबाट बाहिरिने निर्णय गरेको हो। साथै, पार्टीभित्र मन्त्रीहरूको कार्यसम्पादनबारे उठिरहेका प्रश्न र राजनीतिक सहमतिको कार्यान्वयनलाई समेत यो निर्णयसँग जोडेर हेरिएको छ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया