काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा चिकित्सकमाथि कुटपिट तथा तोडफोड भएको घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकले प्रशासनले समेत आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै सामूहिक राजीनामा दिएका हुन्।
अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये झन्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र उनीहरू पनि सामूहिक राजीनामाको तयारीमा रहेको उनले बताए।
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू सेवा सुचारु गर्ने विषयमा सकारात्मक बनेका थिए।
अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने आश्वासन पाएपछि चिकित्सकहरू वार्ताका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) को कार्यालय पुगेका थिए। तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको डा. सिंहको दाबी छ।
उनका अनुसार नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने बताएपछि सीडीओ आक्रोशित बनेका थिए। त्यसपछि सीडीओ र जिल्ला प्रहरी प्रमुख (एसपी) ले चिकित्सकहरूमाथि अपशब्द प्रयोग गर्दै प्रहरीलाई उनीहरूलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप डा. सिंहले लगाए।
वार्ताबाट बाहिरिने क्रममा प्रहरीले चिकित्सकहरूलाई घेरा हाली मोबाइल खोसेको र पुनः कार्यालयभित्र लगेर करिब एक घण्टा नियन्त्रणमा राखेको उनको दाबी छ। आफूहरूमाथि अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै उनले यस्तो अवस्थामा अस्पतालमा सुरक्षित रूपमा काम गर्न नसकिने निष्कर्षमा पुगेको बताए।
प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको डा. सिंहको भनाइ छ। उनले चिकित्सकहरू काममा फर्किनका लागि सुरक्षित वातावरण सुनिश्चित हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग अघि सारे।
उनले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडानसमेत दोहोर्याए। अस्पतालमै चिकित्सकमाथि आक्रमण हुने र त्यसपछि वार्ताका लागि बोलाएर प्रशासनबाटै दुर्व्यवहार गरिने हो भने सुरक्षित वातावरणमा उपचार सेवा दिन नसकिने उनको भनाइ छ।
यसैबीच, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र घटनापछि प्रशासनबाट भएको व्यवहारको विरोध गरेको छ। संघले मंगलबार देशभर आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले चिकित्सकमाथि आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाएको छ।
गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको थियो। सोही क्रममा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोडसमेत भएको थियो। घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशभर ओपीडी सेवा बन्द गरी आन्दोलन गर्दै आएका छन्। पछिल्लो समय नारायणी अस्पतालका चिकित्सकहरूले समेत सामूहिक राजीनामा दिएपछि अस्पतालको स्वास्थ्य सेवा थप प्रभावित बनेको छ।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया