काठमाडौं । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबकाे मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिने छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडेका छन् । दुवै टोलीले समान एक/एक जीत हासिल गरेका छन् । जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।

अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् । अब समूह ‘ए’ बाट तेस्रो टोलीको रूपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अङ्क छ भने दुई खेलेकाे नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: ९ असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com