• प्राध्यापक, नारायण नेपाल/कथा (बुथुरीको कुथुरी)


हजुरबा मैले घरमा ताल्चा लाएर आएँ नि !

कुन ठूलो काम भयो त, नाति ?

हामी हजुरबा नाति अलि खस्रा बोलीका छौँ । तर बुथुरीको आजको आवाज अलिक मलीन र नरम लाग्यो । रहरैरहर शहर पसेको ऊ गाउँ फर्किनु मामुली होइन कि लागेर फेरि सोधेँ:

घरमा अरू कोही नभएर कि के पर्यो त ? हिँड्दाछोड्दा त साम्सुर मिलाएर झ्यालढोका त बन्दगरिहालिन्छ नि गाँठे !

उसले भन्यो: यतिखेरको कुरो थोरै फरक छ । यस्तै पर्‍यो, के गर्ने त ?

उमेर जेजस्तो भएपनि गुनासो नगर्ने ऊ जसोतसो जीवीका चलाउँदै आएको रहेछ । ठिक्कैको आम्दानी । परिवार सानो । अलिकति निरीह अलिकति बुझ्झकी । खन्खाँचो टारेर रचेको रहेछ घर । पहिले त्यैपनि कत्ति न गरियो ठाँनेको सम्पत्ति अहिले घाँडो भएको रहेछ । उसको घर अहिले आएर गढ्तीरको माटोजस्तो भएको रहेछ । आउने ठाउँमा कतिले खने, लगेर भित्ता पोते । हाँडी बनाए । मकै भुटियो । के न के ! कति ठाउँमा पानीले कटायो । छ भन्दा छैन …छैन भन्दा छ ! के न के ! कहिले त पानी धमिलियो अरे ! बचेकुचेको कच्पल्टेर रहेजस्तो ! पानी धमिलियो भन्दै माछाले कराउँदा पो ऊ झस्किन पुगेछ रे ! धमिलो पानीमा जोकोही शिकारीले भेट्नसक्तैनन् र आफ्नै सुरक्षा सजिलो भएको नबुझ्ने ती ट्यार्ट्यारे माछाले टाउको खाएजस्तो भएछ बिचरालाई ! हुनपनि बुथुरीले त्यहाँ घर किनेपछि नै हो पहुँचवाला छिमेकीले बाँकी जग्गा बेचेको । कुस्त पैसा बढाएर । कलाकार बस्नथालेको टोल हो कमसल छैन भनेको गाइँगुइँ सुनिएकै हो ।

पर्‍यो चैँ के त ? मैले बुझ्ने कोशीस गरेँ ।

मैले मिठो बोल्ने, साझा भावनाका ठानेका धेरै मान्छे गलत पाएँ । सुरुमा यस्तो लाग्दैनथियो । मेरो त जसोतसो ठड्याएको हो, तर छिमेकीहरूको राम्रै छ । तला थपे, खुसी लाग्यो । मैले नसके पनि आफ्नो छिमेकीले तरक्की गर्दैछन् ठान्थेँ । बगैँचा बनाए । झनै खुसी भएँ । गाडी किने । वरिपरि सबैको गाडी भयो । साधनश्रोत सम्पन्न टोलमै छु आपतविपद कामपर्दा सहयोग पुग्ने ठानेँ । मजत्तिको मान्छे कम्ताको खुसी थिएँ त ! तर नि, हजुरबा, एक दिन मेरा केटाकेटी बाटामा साइकल सिक्न निस्केको बेला चारपाँच छिमेकी एकैमुख लागेर सातो खाएछन् । त्यसरी बाटोमा साइकल सिक्ने निहुँले निस्केको देखेर अरू टोलका पनि केटाकेटी आउँछन् अरे ! परपरका होटेल तिरका मान्छे टहलिन गाँड् लाग्छन् अरे र उनीहरूलाई गाडी चलाउन सकस पर्छ अरे ! ठूलो स्वरले बोल्ने भनेर हाम्रो परिवारलाई हल्लाघर नाम दिएका छन् रहेछन् । के के हो के के, तमाश गरेछन् ! संजोग उस्तो न नियोजित चाल, सबैका गाडीको स्टार्ट गर्नेबेलाको धुँवाले न के हो गाडी जतिबेला स्टार्ट हुने हाम्रो कुक्कुर भुकिदिने । उनीहरूको आराम बिथोलियो रे भनेर खप्की त कति कति ! बच्चाबच्ची हर्किएर त्यहाँ बस्नै मानेनन् नि । आफूलाई जस्तै उनीहरूलाई पनि होला भनेर अहिले उनीहरू मावलीतिरै बस्नथालेका छन् । कुकुर पनि अर्कैलाई दिइपठाएँ । अब चैँ सकिँदैन भनेर घरबेच्ने मान्छे भिडाएको पनि छु । अति लागेर अलिक दिन यतै शान्त बसौँ भनेर आएको नि !

काहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ ! सुन्दै अचम्म ! अनि यता पनि बेक्कारको चियोचर्चो गरे गाउँलेले भनेर शहर पसेको होइनस् र, बाबु ? शहरबजातिर त झन् उखर्माउलै गर्दारहेछन् कि क्या हो ? बोल्नुपर्छ नि फेरि, यस्तो दशा सहेर पनि हुन्छ र ? कति चुप्प लाग्ने ? कता-कता भाग्ने ? समस्याले लखेटेपछि लफडा बढ्छ भन्थे सोहीपरि भएछ । लु भागेर होइन जागेर काम गर्नू । टोलमै पनि आफ्ना कुरा मिल्दा अरू मान्छे होलान् नि, मिल्दोजुल्दो प्रयास गरेको राम्रो होला !

आ… हजुरबा, त्यहाँका अरू त म भन्दा पीडित मान्छु । बिचरा कसैलाई दाँयाँबायाँ नहेरी हिँड्न भन्छन्, कसैलाई उनीहरूको अगाडिको बाटो पनि बढार्न भन्छन् । हैरान छ । म पनि फुत्त हिँडिहाल्छु त लागेको थिएन । अस्तिको दिनको पिकनिकले कुदायो नि !

के भयो र कुद्नैपर्ने भा’को ?

कथा गरेजस्तो हुन्छ तर अति भएपछि म ओझेल परेको हुँँ । थानकोट पिकनिक जाने, टोलबासी चिनाजान हुन्छ आत्मीयता बढ्छ भनेर पाँच-पाँच हजार रुप्याँ उठाए । गइयो पनि ! तर अलि हुकुमवादी दुई घरले चैँ त्यो समतामा उठाएको रकममै खाना पुर्याइन्छ भनेर भएभरका नातेदार पनि थपेर ल्याएका रहेछन् । गाडी नै पठाएर । खाना खाएर फर्किने बेलामा पो हिसाब गर्दै आएर मैले अरू तीन हजार तत्काल थप्नुपर्ने भने । पहिले उठाएको पैसा पनि मनपरी एउटाले चिनेको क्याटरिङ्ग भन्दै झन्डै दोब्बर मूल्य खर्चिएछ । पछि चाहिन्छ भन्दै अर्कोले ग्याँस चुल्हो र सिलिन्डर खरिद गरेछ । सिलबिनाका बिल, हैट म त चित खा’को नि ! अनि त केही सोच्नै नसकी बाहिर जाने निहुँले टाप दिएको !

कथा गरेजस्तो होइन, बुथुरी बाबु ! कुथुरीको चाल पो भएछ त ! कुथुङ्ग्री पनि भन्लान् कतिपयले । जे गरिस् ठीकै पो गरिस् कि क्या हो त्यसो भए ! ए पैसा उठाउँदा सामुहिक अनि खर्च व्यक्तिगत ! सकेको पाएको ठाउँमा निर्मम मर्काउने रहेछन् नि ! कुनै नेताका पहुँचका होलान् ती ! उनीहरूले ब्रह्मलूट गरेको देखेकाछन् अनि निम्छरामाथि शासन गर्छन् नि ! उ स्कूलमा कोचिङ भन्दै थप शुल्क उठाएर हैरान पारेकाछन् अनि पर्वको विदा अरे आधी महिनाको । पर्वको विदा दिनै छ त नियमित शुल्कभित्रैको कुरा हुनुपर्ने नि त्यो ? हस्पिटलले बढ्ता कमिसन दिने औषधिमात्रै बताउने ? पसलेले भ्याटबिल माग्दा ग्राहकलाई रकम थपाउने ? होइन राम्रो कुरो चैँ नसिक्ने, नराम्रो चैँ जसरी पनि अनुसरण गर्ने, कस्तो कमाउ मति ! नडराऊ, बाबु, दिन आउँछन् । बेथितिले सीमा नाघेको छ । केही सुधारात्मक अवस्थाको सुइँको पाइरहेको छु है मैले त ! यी सबलाई ठेगान लाउन अब जरुरी छ !

साँच्चै एउटा टोलमा त यस्तो छ, अनि देशको सन्दर्भ कस्तो होला ! हस् त, हजुरबा, त्यस्तो केही पर्‍यो भने भन्छु नि !

अब यहाँभन्दा के पर्नु र ! बुथुरी गएको मैले हेरेँ । मेरा आँखा थोरै रसाएछन् क्यार, रुमाल यसो दलेको भिजेछ । लाहुर गएर कमाउँला भनी साहुको नाउँमा छोडेको आफ्नै जग्गा निखन्न नसकेको सम्झेर पनि हो कि ? हजार लिएको लाख देखाउँछ ! आफैँ अप्थ्यारोमा छु । अरूलाई के ढाडस दिनु ! खोइ के भन्नु के नभन्नु ? गाउँका आफन्तले शहर पसेको छ, मालामाल गरेको बसेको छ भन्छन्, शहर पसेकाको ताल यस्तो छ । जसको तरक्कीमा ऊ रमाउँथ्यो उनैका कारणले घरै छोड्नुपर्ने अवस्थामा छ ऊ ! तैट ! सर्वसाधारणले कहिलेसम्म भोग्नुपर्ने यस्तो सास्ती ! मनबुझाउने केही आधार मिलोस् ! हे भगवान !

  • नारायण नेपाल साहित्यिक क्षेत्रमा रुचि राख्ने प्राध्यापक हुन्।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com