• ‘रासायनिक मल र बिदेशी बिउबिजनका कारण नेपाली भुमी उजाडिँदै छ’- प्रमोद सनराईज

देख्दा सुन्दा मान्छेलाई यो विषय सामान्य लाग्छ, लागोस, लागेर केही फरक पर्दैन। तर सत्य त सधैं सत्य नै हुन्छ। मलाई अहिले पनि हजुरबुबाले भनेका ती कुराहरू झलझली दिमागमा आउँछ। सायद हजुरबुबाको भौतिक शरीर अहिलेसम्म जीवित भैदिएको सारा मनका बहहरु दिल खोलेर पोख्ने थिएँ।

‘गाई-भैंसी, गोरु-बाख्रा, परेवा-कुखुरा टन्नै पाल्नुपर्छ, आफ्नै खेतबारी-पाखा टन्नै हुनुपर्छ, अनि मात्रै जीवनमा सुख पाइन्छ’ भन्नुहुन्थ्यो। ती पशु पंक्षीहरुबाट निस्केको बड्कुला, गोबर, सुली प्रयोग गरेर आफ्नै खेतबारीमा प्रयोग गरेर उत्पादन गरेको अन्नहरु मात्रै स्वास्थ्यको लागि लाभदायक हुने उहाँको निचोड थियो। तर क्यार्नु त्यो मेरो कलिलो उमेरमा उहाँको भौतिक शरीर रहुन्जेल मलाई यी कुराहरूप्रति रुचि भएन, या भनम मेरो दिमागले बुझ्न् सकेन।

वि.सं २०५६/५७ देखि ६२/६३ सालसम्म पनि पुर्वी पहाडी जिल्लातिर प्राङ्गारिक मलको नै बढी प्रयोग हुन्थ्यो। सामान्य भाषामा भन्नुपर्दा गाईवस्तु तथा जनावरको मल हो । गाउँघरमा प्राय गाई, भैसी तथा बाख्रा पालिने हुँदा तिनीहरूको मललाई नै प्राङ्गारिक मल भन्ने गरिन्छ तर अरु घरपालुवा जनावरको मल पनि प्राङ्गारिक मल हो।

प्राङ्गारिक मल खेतिका लागि अत्यावश्यक हुन्छ । जुनसुकै खेति कार्यका लागि पनि प्राङ्गारिक मलको प्रयोग हुन्छ, तर बालि अनुसार प्राङ्गारिक मलको मात्र पनि कम वा बढी हालिन्छ। प्राङ्गारिक मललाई अझ विस्तृत रूपमा परिभाषित गर्दा यो मल जनावरको मल, मुत्र र रूख तथा घाँसका हरिया तथा सुकेका पात आदिको कुहिएको मिश्रण हो।

सर्वप्रथम प्राङ्गारिक मल बनाउन गोबर वा वस्तुभाउको मल तथा सोतर लिनुपर्छ । मलको दुईगुणा सोतरको मात्रा राखी राम्रो ठाउँमा मल र सोतर राम्रोसँग मिश्रित गरेर थुप्रो लगाउनु पर्छ। थुप्रो लगाएको मललाई महिनाको एक पटक मल र गोबर राम्रोसँग फिटिने गरी पल्टाउनु पर्छ। यसरी महिनाको एक पटक गरेर ३ वा ४ पल्टसम्म मल पल्टाउदा प्राङ्गारिक मल तयार हुन्छ। अब यो तयारी मल खेति कार्यमा प्रयोग गर्न सकिन्छ।

नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि ०४० सालदेखि निरन्तर अध्ययन भइरहेको छ । ०४१ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल मल कारखानासम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले नेपालमा सानो बजार भएका कारण तत्काल मल कारखाना स्थापनाको सम्भावना नभएको प्रतिवेदन सरकारलाई दिएको थियो। जब प्राङगारिक मललाई बिस्थापित गर्दै रसायनिक मलको प्रयोग गर्न थालियो, त्यसपछि हरेक नागरिक अस्वस्थ, रोगी र शारीरिक रूपमा कमजोर बन्न थाले। कलिलो उमेरमा अनेक रोगबाट ग्रसित हुन् थाले। रेडियो, अखबार, टेलिभिजन, सेलेब्रेटी र अन्य बिज्ञापनमार्फत यी कुराहरू भजाउने काम भयो र सामान्य अशिक्षित नागरिकको दिमाग भुटेर सोही अनुरुप प्रयोग गर्न बाध्य बनाईयो।

नेट ईन्टरनेट को जमानामा दुनियाँ कब्जा गर्ने अनेक सुत्र हुन्छ। पहिलेको जस्तो हतियार बोक्नुपर्दैन। मैले प्रसङ्गमा रासायनिक मलको मात्रै कुरा गरेँ । स्थानीय बिउबिजनको पनि उहि छ हालत। आफ्नै मौलिक बीउबिउन हुन्थ्यो, सोही अनुरुप उत्पादन हुन्थ्यो। त्यहीँ उब्जनी भएको अन्न मध्येबाट अर्को बर्षको लागि बिउबिजन छुट्याईन्थ्यो। कसैको पनि भर नपर्नुपर्ने अवस्था थियो।

अन्त्यमा,
यी सारा चिजहरु योजनाबद्द ढंगले चलिरहेको छ। कुनै पनि सरोकारवाला निकायको ध्यान पुगेको छैन। पुगेको भए पनि सोच्ने फुर्सद छैन। सोचेको भए पनि यसलाई रोक्न सक्ने औकात छैन। जुन देशबाट यी बिउबिबजन आईरहेको छ भोलिको दिनमा उसले रोकिदिँदा भोकमरीको अवस्था नआउला भन्न सकिन्न । पैसा, पावर हुने त रातो पासपोर्ट बोकेर जता पनि पुग्लान तर निरीह जनताको हालत के होला ? सधैं जता-जता बाहुन बाजे उतै-उतै स्वाह गरेर चल्ला र ?

  • प्रमोद सनराईज साहित्य, राजनिती र सामाजिक विषयबस्तुमा समेत कलम चलाउँछन्

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com