- प्राध्यापक, नारायण नेपालको आलेख ।
एक काव्यगोष्ठीमा झुमकना गइन् । कविताको क्षेत्रमा उनको नाम थियो र प्रमुखअतिथी डाकिएको थियो । उनीसँगै एकजना अतिथी थपिइन् । उनको सङ्गीत, कला तथा साहित्य कतै हात चलेको थिएन । भयङ्कर समाजसेवी भनियो । त्यसदिनको कार्यक्रमको चियाचमेना व्योहर्दैमा समाजसेवीको पदवी दिएको बुझियो । अझ अर्का पुरुष मञ्चमा बोलाइए । उनी भर्खरै मात्र कुनै नामचलेको देशबाट आएको भनियो । झुमकना जुरुक्क उठेर हिँडेको धेरैले मेसै पाएनन् । पछि प्रस्तुत कवितामाथि टिप्पणी गर्ने बेला पो मुख्य वक्ता नभेट्दा खैलाबैला भएको थियो ।
धूनकुमार दशवटा जति पुरस्कार गुठीका हर्ताकर्ता चिन्छन् । उनले सिफारिस गरेको मान्छे वा संस्थाले पुरस्कार पाउँछ । गुणस्तरीय सिर्जनामा भन्दा थोरबहुत सम्पत्ति खर्चेरै भएपनि चर्चिने नाममा विश्वास गर्ने केहीसित उनको उठबस लामै छ । समय मिलाइ यथोचित लाभग्राही चयन गरिन्छ । तीनजनालाई पुरस्कार दिँदा दुई त धूनकुमारकै सिफारिसका रहन्छन् । सिफारिस गर्दै उनको आउनेपाउने हिसाब गरिन्छ । कतिपयले त उनैलाई पुरस्कारभागी पनि बनाउँछन् । भएन त गज्जवको आम्दानी !
पाँचजना अधवैँशे पुरुष अनि स्त्री मिलेर समर्शीतल नामको संस्था खोले । आफू-आफू मिलेर लङुर्बुर्जा खेली बाटो हिँड्नेलाई दाउ थाप्न आकर्षित गर्ने तरिका उनीहरूले बुझेका थिए । दुईचार पत्रिका र रेडियो-टिभिमा चिनेकै साथी थिए । समाचार लेखाए । आफन्तका नाममा अमरत्वबुटी जो बाडिंदो छ । अहिले बीसजनाले अक्षयकोष राखेका छन् । त्यसमध्ये दुई दाताले ललाइफकाइ रकम लगिएको भनी मुड्डा दायर गरेका छन् । अरूको गुनासो तत्काल नभएको बुझिन्छ । अनेक तिकडम मिलाउनसक्ने उनीहरूको हण्डी बेग्लैराम्रो चलेको छ ।
श्रीमनप्रसादले लुमिनालाई पुरस्कार दिए । भव्य गोष्ठीमा करोडौँ प्रशस्ति गाइयो र केही रकमसहितको खामसहित दोसल्ला ओढाइयो । लुमिना फेसबूकमा फाट्टफुट्ट कहानी लेख्थिन् । धेरैले यही बुझे कि कृति प्रकाशित नभए पनि धेरै रचना नगरे पनि थोरै स्तरीय कार्यले पनि पहिचान थप्छ । यस्तो बुझाइ गलत होइन तर चुरो कुरो अर्कै थियो । लुमिनाको लसपसको गोरखथिमी ठूलै साहित्यिक गुठीका अध्यक्ष हुन् र पछि श्रीमनप्रसाद आसन्न पुरस्कारको हकवाला दर्ज भैरहेका थिए ।
मुसुक्क हाँसेकै भरमा, पुटुक्क देखिएकै भरमा अनि सुटुक्क सहमति गरेकै भरमा पुरस्कार लिनुदिनु ठीक लाग्दैन मलाई त ! मैले नै पाउनुपर्छ भन्नेपनि छैन, सेवा तथा कामको योगदान बोले मलाई केही भन्नु छैन । आफूले नपाएपछि जेपायोत्यही बोल्छ भन्लान् कतिले त्यस्तो होइन । तर मञ्च र अवसर पाउनेले कर्म र विधाको न्यायोचित सार्वजनिकीकरणमा अन्यथा गर्नुहुँदैन । नखोल्ने शर्तमा एक युवासाहित्यकार भन्दैथिए, ‘आजकल त्यो प्रज्ञा-डबलीमा गरिने विज्ञ-महोत्सवजस्तो त हाम्रो चियागोष्ठी चल्छ । हैट, मान राख्नेले नराखेको मान खोइ कुन-कुन देशका संसदसदस्यले आफैँलाई ‘माननीय’ भन्दै र भनाउँदै हिँडेजस्तो । इज्जतिलो नरहेपनि बेइज्जती बन्न नपरे हुने !’
यसै क्रममा भवदीयको भनाइ पनि प्रसङ्गरत छ । उनको विचारमा अहिलेको विद्युतीय सञ्जाल र सञ्चारको जुनेलीमा पौडने सोचले पुरस्कारको औचित्य परिस्कार गर्दैछैन । एउटा व्यक्ति वा संस्थाले कतै पुरस्कार पाएको र सञ्चारले काखी च्यापेको बुझेर त्यही व्यक्ति वा संस्थालाई बहुलट्ठी पाराले पुरस्कार प्रदान गर्ने र मिडियाबाजी गर्नेहरूले सुकर्म धमिल्याउने गरेका छन् । धन्न, सत्कर्ममा लागेका सही तथा योग्य व्यक्तित्वहरू हावादारी रूपमा भाइरल वा ब्याक्टेरियल हुने लहडबाजीमा छैनन् र रहन्नन् । उपहार दिएको फोटो खिच्ने र छाप्पा हाल्ने अनि स्वार्थ साँधेपछि उल्टै लुटेर हिँड्ने त कति छन् कति । लहलहैमा कसैलाई पगरी दिँदैगर्दा सत्कर्मी अरूले अपमानित पनि महसुस गर्नुनपरोस् कि ।
गरिएको काम वा रहेको अवस्थामा अग्रणी भूमिका राख्ने वा क्षमता तथा गुणविशेषको कदर वा सम्मानमा दिइने पुरस्कारबारे विभिन्न टीकाटिप्पणी सुनिने गरिएको प्रसङ्गमा सोहीबारेको धारणा यहाँ समेट्ने प्रयास गरिएको छ ।
अगाडि रहने वा अग्रस्थान राख्ने अर्थको उपसर्ग ‘पुर:’मा ‘कार’ अर्थात् कर्म र करणको बाहक अथवा कर्मक वा सर्जक लागेर बनेको ढाडस र सम्मानको शब्द पुरस्कार हो । साहित्य, सङ्गीत, कला वा अन्य उपक्रममा गरिएको कामको पहिचान र प्रोत्साहनका लागि पुरस्कार दिने गरिन्छ । पुरस्कार विजेता व्यक्ति भए निजलाई पुरस्कृत वा सम्मानित व्यक्तित्व भनिन्छ। र कतै लरेट ! उक्त शब्दले प्राचीन ग्रीसमा कुनै प्रतियोगिताका विजेताहरूलाई दिइने प्रतिष्ठित पुष्पहारको सङ्केत गर्छ। हिब्बा, बक्सिस, अकोलड, प्राइज वा जे शब्दले बताएपनि राम्रो काम गरेबापत दिइने इनाम, रकम वा प्रशंसापत्र एकातिर छन् भने अर्कातिर ‘बूबी प्राइज’ भनेर मजाकमा दिइने पुरस्कार पनि प्रचलनमा छ । जथाभावी केक काटेर आफन्तलाई सर्प्राइज दिने नौटङ्की चलन पनि यदाकदा फैलँदै गएको छ भने पुरस्कार आपसी प्रभाव र व्यापारको खेल हो भन्नेहरू पनि मनग्गे भेटिन्छन् ! जेजस्तो भएपनि यो वचनले, प्रमाणपत्रले, तक्माले, सम्मानीय उपनामले, पदवीले, नगद-सम्पत्तिले, वस्त्रले, माला-आभूषणले तथा कर्मतह वा वेतनबृद्धिले जनाउने गरिन्छ । यथोचित पक्षलाई समुचित पक्षले दिने पुरस्कार तथा सम्मानले अवस्य पनि यसको उपादेयता र औचित्यको गाथा कायम राख्ने छ र मर्यादाको बिषय बनिरहने प्रष्ट छ ।
कतिपयको बुझाइमा पुरस्कार एक आन्तरिक चलखेल तथा आपसी लेनदेनको बिषयवस्तु बढी सम्मानको विम्ब कम हो । चिन्तकहरूका शब्दमा व्यक्ति, समूह तथा संस्थालाई निजको योगदानमा निस्वार्थ दिइने ठानिएको यस्तो सम्मानको द्योतक लिने पनि कर्म, अवस्था वा सेवाले लायक हुनुपर्छ । भन्नेगरिन्छ जथाभावीको पुरस्कार थाम्ननसक्नेलाई बोकाइने भारीजस्तो हुनपुग्छ । अहिले तँलाई दिन्छु, पछि मलाई दे भन्नेजस्तो भाष्य त्यसै चले-चलाइएको छैन क्यार ! यस्ता काइते प्रवृत्तिको सम्बाहक पुरस्कार कदापि हुनुहुन्न । कुनैपनि कोणबाट यसलाई मिलिभगतको परिकार बनाइनुहुन्न ! जे होस्, पुरस्कारको गरिमा राख्नु सम्बन्धित सबैको कर्तव्य हुनआउँछ ।
नेता रोगी छ, त्यसैले मन्त्री बनाइदिऊँ, उपचारखर्च चल्छ भन्नेजस्तो अवस्था सुन्नुनपरोस् ! दाताको आफ्नो मान्छे हो जागिर मिलाइदिऊँ पछिपछि सम्बन्ध हेर्दैजानुछ भन्नेपनि सुन्नुनपरोस् !
आफ्नो मतदाता हो गुण लाइदिनु छ, दशैँमा राष्ट्रको ढुकुटीबाट खल्ती भरिदिऊँ बेरुजु-बरबुझारथ हेरिन्न – सुन्नुनपरोस् !
मन्त्रीले फेरि उँदेरका आशेपासेलाई कोष उपलब्ध गराएछन् र तस्करनाइकेको जरिवाना-कैद मिनाहा गरिदिएछन् – सुन्ननपरोस् !
आफ्नै पुस्तक आफैँ खरिद गरीगराइ पुरस्कार गुठीबाट पुरस्कार हत्याएर श्रोतापाठकलाई कमजोर उल्लु बनाइँदैछ – सुन्नुनपरोस् !
आफैँ सञ्चारकर्मी आफ्नै डम्फु बारम्बार बजाइ पुरस्कार पाएको रहेछ, त्यो कृति त आधा नपढी थन्काएको छु – सुन्नुनपरोस् !
नोबेलजस्तो पुरस्कार कसैको विरोधी लेखक वा दत्तभक्त भएकै कारणले दिनेगरिएझैं यो पनि फलाना-फलानालाई बाँडिएछ – सुन्ननपरोस् !
समाजभाँड्ने कला-साहित्य रहेछ, कसैको पैसा खाएर अनि कर्तव्य बिर्सिएर पाएको पुरस्कार, पुरस्कार न तिरस्कार – सुन्ननपरोस् !कसैको ओठ र लाली हेरेर, कसैले गर्ने गाली केरेर लिएदिएको पुरस्कारले वास्तविक सर्जक-कलाकार आक्रान्त छन् – सुन्ननपरोस् !
काम र योगदानको कदर नहेरी पुरस्कारलाई बाख्राको मुखको कुभिञ्डो बनाइनु कसै अर्थपूर्ण नहुने विचारसहित सबैमा यथोचित अभिवादन !
- नारायण नेपाल समसामयिक तथा साहित्यिक क्षेत्रमा कलम चलाउँछन् ।
प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार
प्रतिक्रिया