- अध्यापक, नारायण नेपालको आलेख ।
चाहिनेले नपाउने र पाउनेलाई नचाहिने के हो भनेर कसैले सोधे झ्वाट्ट सरकारी कोषको उपचार खर्च भनेर किटानी उत्तर जनाउने आमेशा लिम्बु भन्नुहुन्छ-‘जनताले खाइनखाइ तिरेको करको सही उपयोग नहुनु दु:खदायी छ। मन्त्रीको विनाविकासे सुविधा र मन्त्रालय नजिकका आसेपासे र तिनका परिवारसमेतको जथाभावी खर्च सरकारी ढुकुटीबाट चल्नेगरेको सुन्नुपर्दा मनभित्र पीडा हुन्छ। झन् बिरामी परेको निहुमा तीन अरबभन्दा माथिको खर्च, अति छ।’
विपन्न वर्गसदस्यले अनि सरकारले तोकेका रोगविशेषका बिरामीले निश्चित प्रकृया पुर्याइ उपचार सुविधा तथा खर्च लिनपाउने व्यवस्था भएपनि आवश्यक परेकाले झमेला व्योहर्नुपर्ने र नगन्य निकासा पाउने तर पहुँचकाले विभिन्न शीर्षकमा सहज हातलिने सुविधा व्याप्त हुनु निन्दनीय छ । उत्तम पुरीका विचारमा नेताहरूले गर्ने भ्रष्टाचार अरबतिर चल्ने समाजमा करेलु जनताले पाउने केही हजारको सुविधामा राजनीति गरिनु कदापि उचित होइन । सामाजिक सुरक्षाको न्यायोचित सम्बोधन सर्वसाधारणले महसुस गर्नपाउनु उनीहरूको संबैधानिक हक सँगै बुझिने प्रसङ्ग रहन्छ।
मधुजंग पाण्डेका विचारमा जनसेवा गर्ने महत्वपूर्ण दायित्वमा रहेका उच्च पदस्थले नै दोहोरो सुविधा लिएर राज्यकोषको दोहन गर्नेगरेको तथ्याङ्कले देशको सुशासन सिद्धान्तमाथि प्रश्नचिह्न खडा गरेको छ।
एक फोरममा प्रकाश आचार्य लेख्नुहुन्छ – ‘उपचार कोषबाट कथित सुविधा रकम बुझ्नेमा आर्थिक हैसियत राम्रो भएका र आफ्नो घर भाडामा लगाउने सांसदहरू पनि रहेको यथार्थले सुविधाभोगको बेग्लै लोभ नेताहरूमा देखिएको बुझिन्छ।’
जनकर सञ्चित हुने राज्यकोषबाट जथाभावी सेवासुविधा लिने प्रवृत्ति मौलाउँदै गएको भन्ने एक खबर उत्तिकै स्मरणीय छ।
त्यसैगरी, अरबौँ राजस्व छल्नेलाई दलीय आडमा उन्मुक्ति दिने गरिनु, कतै करोड रुपैयाँ उठाउन बाँकी हुँदा ताकेतासम्म नगरिएको तर कतै एक कोठा घर बनाएर बस्नेका घरको बत्ती बेलामा महसुल नतिरेको भन्दै तीनै महिनामा कटाइएको सुनिनु, वृद्धभत्ता लिन दश पटक धाउनु परेको, आदि भनाइ व्यापक रूपले राजनीतिक बेथितिकै सङ्केतक मान्नुपर्ने हुन्छ।
युवा टेम्पो चालक सोनम डोङ भन्नुहुन्छ – दुई दिनदेखि टाउको दुखे पनि सवारी चलाउनुपरेको छ । परिवार चलाउनै पर्छ । साहुको उठ्ती बुझाएर आफ्नो खर्चको जोहो गर्नुपर्छ । फेरि पुतलीसडक जाम भइरहन्छ, रोक्ने स्थान र चढ्ने यात्रु खोज्न उस्तै झमेला छ। टाँका हान्न जानिएन, नत्र केही बसाइन्थ्यो होला । नेताहरूजस्तो भ्रष्टाचार गर्यो जेल बस्नुपर्यो भने बिरामी भएको नाटक गर्यो छुट्यो, हामीलाई त त्यस्तो छुट हुँदैन नि ! नहोस् पनि, कसैको पेटमा लात्ती हानेर खान ठीक होइन पो लाग्छ । यो मुख्य सडक बिग्रेको छ-सात साल भयो बनाइदिए पनि यिनीहरूको अपराध माफ भन्न मनलाग्थ्यो होला त्यस्तो छैन, त्यो खन्ने ठेक्केदारसित मिलेर खाने होला कमिसन, अनि काम समयमा गर्दैनन् । बाटो यस्तो छ खाल्टो र खुल्टी ! घाम लागे धूलो पानी परे हिलो ! किनेको दुई वर्षमै टेम्पो खटेरा भैसक्न लाग्यो । साहु मलाई दोस्न खोज्छन् । मलाई बेक्कारको टाउको दुखाइ !’
हाइस्कुले विद्यार्थी लता पोख्रेल भ्रष्टाचारी नेता, प्रशासक अनि कार्यकर्ता सबैलाई राजनीतिका बिरामी मान्नुहुन्छ। उहाँका विचारमा देश विकास गर्ने र शान्ति बहाली गर्ने इमान्दार नेता कोही भएनन्। जसरी होस् मिलाउने खाने, युवालाई विदेश जान वाध्य पार्ने, बिरामीलाई नेता बनाउने र उपचारका नाममा राज्यकोषबाट मनलाग्दो पैसा सुविधा लिने, खत्तम व्यवस्था बनाए सबै मिलेर । खानेकुरामा फेरि सबै मिल्नेहरू देशको उन्नति र सुरक्षामा किन एक मुख गर्न नसकेका होलान् ?
विभिन्न सामाजिक सेवाका नाममा संस्था दर्ता गर्ने र पहुँचवाला मन्त्रीको तोकमा राजश्व लुट्ने र लुटाउने खेल अचम्मको ठान्ने सन्तोष ठगुन्ना भन्नुहुन्छ-‘हुकुमे-चिलिमे पोस्ने खर्चले पहाडमा बाटो थपे हुने … तराईको खेतमा पानी मिलाए हुने । मल अनि बिउ मिलाए हुने। तर त्यस्तो छैन । संस्थाको लागि भनेर रुपैयाँ पनि लिने, अझ सरकारी जग्गामा ती संस्थाहरूले आफ्नो धन्दा चलाउन छुट पनि मिलाउने । नागरिकको भलाई गरेको भए राम्रो हुने ! आफू नेता भए जनताको शिक्षा र स्वास्थ्य सुविधा निशुल्क गरिदिने र सरकारी स्वामित्वको अरूले लुटेको धन स्वत: राज्यको हुने कानुन बनाउने मुहिम चलाइन्थ्यो ।’
राष्ट्रप्रमुख बिरामी परेकाले विदेश लगेको र यति करोड खर्च भएको, भ्रष्टाचारी नेतालाई स्वास्थ्यस्थिति बिग्रेका कारण उपचार गराउन अर्को देश लैजान सरकारी पहल भएको, फलानो मन्त्री मन्त्रालयभन्दा बढी बिरामी भत्ता लिँदै अर्को कमाउधन्दामा रहेको भन्नेजस्ता खबरले सर्वसाधारणको कन्सिरी तात्नथालेको यथार्थ स्मरणीय छ । कानुनी छिद्र खोजी स्व:फाइदाको खेलो गर्ने, स्वयम् खर्च धान्नसक्ने भएर पनि जथाभावी सुविधामा र्याल काढ्ने प्रवृत्ति राख्ने, आशेपासे खुशीपार्ने नाउँमा सर्वसाधारणको अधिकार खोसिने, बिरामी कामगर्ने – सबै गलत काम रोकिनुपर्छ । स्वास्थ्यउपचारमा बिदेशीने रकमले देशमा राम्रा अस्पताल खोल्नसकिन्छ। भएका अस्पताल वा स्वास्थ्यकेन्द्रको स्तरोन्नति गर्नसकिन्छ। नेताले स्वदेशमै उपचार गराएको खबरले जनस्तरमा स्वास्थ्यसुविधाको आन्तरिक विकासको समाचार सम्प्रेषण गर्छ जुन शिक्षादि क्षेत्र विकासको प्रेरक विन्दु हुनसक्छ । राजनीति पेशा होइन सेवाभावको एक प्रकरण हो भन्ने आदर्श स्थापित गर्दैजाने अभिप्रायबाहेक यस पङ्क्तिकारको यहाँ कुनै आग्रह तथा पूर्वाग्रह नरहेको जानकारी सम्प्रेषित छ । पैसै कमाउनु छ भने मिल्दोजुल्दो कुनै पेशामा रहनसकिने, यथोचित ब्यबसायमा लाग्नसकिने तर राजनीतिलाई लुटीखाने भाँडो नबनाउन वास्तवमा सबै तह र तप्काका नेतावर्गमा आग्रह छ । कुरैकुरा, राज्यको कोष राज्यको उन्नयन र शान्ति-सुरक्षामा सम्पूर्ण रुपले लगानी गरिनुपर्छ भन्ने अभिप्रायका यहाँ टिपोटमा रहेका विचारले समग्रमा देशको सम्पदा देशको हितमा हुनुपर्छ भन्ने आवाज बोक्ने नै हो । जनताले न्यायोचित सबलीकरणको आस्वादन लिँदैरहन पाऊन् र सुशासनको प्रत्याभूति गराउँदै जाने कुरामा सरोकारी सबैबाट विलम्ब नगरियोस् ।
विचार र तथ्यका श्रोतसन्दर्भका सम्पूर्णमा धन्यवादसहित नमस्कार ! अस्तु !
-
नारायण नेपाल समसामयिक तथा साहित्यिक क्षेत्रमा कलम चलाउँछन् ।
प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार
प्रतिक्रिया