श्राद्ध के हो ?

दिवङ्गत आफन्त, खासगरी पितृआत्मा तथा मातृआत्माको स्मरणमा श्रद्धापूर्वक गरिने स्मरणकार्यलाई श्राद्ध यानि सराद भन्नेगरिएको छ । मिलेसम्मको वैदिकविधि र लोकसंस्कार ध्यानमा राखेर गरिने स्मृतियोग्य आत्मातत्त्वमा सम्मान दर्शाइने यस्तो कार्यलाई पितृयज्ञको रूपमा हेर्ने र पितृॠण तिर्ने कसीका रूपमा लिनेसमेत गरिएको पाइन्छ । यसरी, सम्बन्धित पूर्खा र नजिकका श्रद्धालायक तत्त्व जो ‘पितृ’ भन्ने शब्दले सङ्केत गर्नेगराउने गरिएको छ तिनै तत्त्वको सम्झना, कृतज्ञता र महिमा गाथाको कार्य सराद हो र यो गते र तारेखमा नभै तिथिमा गर्नेगरिएको हिन्दू मत छ ।

श्राद्ध किन गर्नेगरिन्छ ?

यस जैविक धरातलमा अवतरण गराउने मातापिताको जीवन हुँदै सेवागर्नु सक्नेबुझ्ने हर सन्तानको कर्तव्य हुनआउँछ र मरणोपरान्त त्यस्ता आदरणीय नमनीय आत्माहरूमाथि संस्कारअनुसार स्मरणगर्नु र यथोचित सम्मान प्रकटगर्नु उत्तिकै अर्थपूर्ण मान्नेगरिएको छ । सुनेबुझेका मुख्य मतअनुसार आफ्ना पितृको सम्झना स्वभाविक हुनआउँछ र त्यस्तो तिथिगत सम्झनामा विधिपूर्वक निश्चित पैतृक कर्म गर्नेगरिन्छ । पैतृककल्याण मुख्य कारण हुनसक्छ भने जीवनभारा तिर्ने कोमल प्रचलन उत्तिकै उल्लेखनीय रहन्छ । समग्रमा, आत्माज्ञान, पूर्वजसम्मान, धार्मिक संश्लेषण र लोकाचारका अनुसरणहेतु श्राद्ध गर्नेगरिएको बोध हुन्छ । पितृदोष निवारणको आश र त्राशमा रीति धान्नेहरू कतिपय छन् भन्नसकिन्छ अनि सेवाबोध तथा पेशाका कुरा पनि जोडिनसक्छन् ।

श्राद्ध कहिले गर्ने ?

परम्पराको व्यापकताअनुसार र खेमागत कुराको विचविन्दुमा रहेर भन्नुपर्दा दिवङ्गत भएकाको मृत्‍यु भएको समयको पक्षगत तिथिअनुसार प्रत्येक वर्ष सोही तिथि पारी श्राद्ध गर्नुगराउनु उचित मानिने गरिएको छ । तिथि बिर्सेंका हकमा सोही पक्षको औँशी पारेर तर्पणादि कार्य गर्ने कतिपयको चलन छ भने त्यो पनि सम्झना नभएका कतिपयले र तिथि घटबढ भएका अवस्थाका कतिले सोझै पितृऔँशीका दिन श्राद्ध गर्नेगरिएको बुझिन्छ ।

कहिले श्राद्ध गरिने भन्नेकुरा श्राद्धको प्रकार र कर्ताद्वारा लिइएको ध्येय र विधिमा भरपर्ने प्रष्ट छ । जस्तो, कृतज्ञताश्राद्ध गर्नेले हरबिहान पितृका नाममा नियमित जलाञ्जली दिन्छन् र तिथिका दिन विशेष पैत्रिक संकार्य आयोजन गर्छन् । अविवाहित पैत्रिक तत्त्वका हकमा महालय श्राद्ध गर्नुपरे पुरुषको कृष्णपक्ष पञ्चमी र महिलाको नवमी तिथि उचित मानिँदो छ । संन्यास लिएका व्यक्तिहरूको प्रसङ्गमा सोही पक्षको चतुर्दशी उत्तम मानिएको छ भने अकाल मृत्‍युका सबैका लागि औँशी उपयुक्त ठान्नेगरिएको छ । विभिन्न सांस्कृतिक चलनका कारण र भैपरी आउने अवस्थाले रोकिएका तिथि भने प्राय: सोही पक्षक्रमको अष्टमी अथवा द्वादशीमा निप्टारा गर्नेगरिएको व्यवहारसिद्ध छ ।

श्राद्ध कसले गर्ने ?

श्राद्धका प्रकारअनुसार कर्ता फरक पर्ने अवस्था प्रष्ट छ । मूलत: आफ्ना दिवङ्गत पितामाताको श्राद्ध सन्तानले गर्ने । पहिले छोरावर्गको प्राधान्यता थियो भने अहिले छोरी-ज्वाइँसमेतले सम्मानको यस्तो कार्य उतार्नथालेको बुझिन्छ । दम्पतीले पनि एकअर्काको सराद गर्नेगरिएको स्वभाविक मानिन्छ । दाजुभाइको कुरो पनि जोडिन्छ नै । आशक्तता टाल्न वा अन्य कारणले खेतालाकर्ता कार्यस्थलमा स्वीकारिँदा भेटिन्छन् पनि र श्रद्धाले शास्त्रसम्मत योग्य व्यक्तिले पनि श्राद्ध गर्नेगरेको अभ्यास भेटिएकै छ । ब्रह्मकपालीजस्तो श्राद्ध भने व्यक्ति स्वयम् कर्ता भई पारायण गर्ने परम्परा छ ।

श्राद्ध कसको गर्ने ?

श्रद्धा राखेर सम्मानपूर्वक गरिने कार्य श्रद्धालायक स्मरणीय सबैको गर्ने सनातनी प्रचलन छ । चौडा हृदय वा रीतिविशेष, देवी-देवता, ॠषि, कूलसदस्य, ईष्टजन, वनस्पती, कीरा, जनावर आदि सम्पूर्णको निश्चित तृप्तिको कामना प्रचलनमा छ । तर्पणपानीको व्यापकता उल्लेखनीय छ र वसुधैव कुटुम्बकम् चरितार्थ रहन्छ ।

श्राद्धका प्रकार के-कस्ता छन् ?

मासिक श्राद्ध (सपिण्डी श्राद्धपछि वर्षदिने अनुष्ठान नगरेसम्म हर महिना गरिने जलदानसहितको कर्म), एकपार्वण (सोह्रसरादको पक्षमा नियमित पर्ने) एकोद्दिष्ट, पार्वण वा महालय अनि तीर्थश्राद्ध धेरैजसो प्रचलनमा रहेका श्राद्ध हुन् । यसैक्रममा एकमात्र पितृका आधारनाममा गरिने श्राद्ध एकोद्दिष्ट, धेरै पितृका नाममा गरिने महालय तथा बसोबासको क्षेत्रभन्दा बाहिर कतै तीर्थस्थलमा गएर गरिने तीर्थश्राद्ध हुन् ।

नित्य श्राद्ध (नियमित गरिने), काम्य श्राद्ध (मनोकामना साँध्न गरिने), वृद्धि श्राद्ध (विवाह तथा व्रतबन्ध आदिमा गरिने नान्यमुखी आदि), सपिण्डी श्राद्ध (दशगतका बेला चोखिनुपूर्व गरिने प्रेततत्त्वलाई पितृतत्त्वमा जोड्ने स्वथाकार्य प्राय:ले जो मृत्‍युको बाह्रौँ दिनमा गर्छन्), पार्वण श्राद्ध (महालय कर्म अनि औँशी तथा पूर्णिमाजस्ता विशेष तिथिमा समग्र पितृतृप्तिकन गरिने), गोष्ठी श्राद्ध (गोठ तथा पवित्र स्थानमा वंशहितका लागि प्राय: सामुहिकतामा गरिने), शुद्धि श्राद्ध (अशुद्धि आइपरे शुद्ध हुन गरिने), कर्मांग श्राद्ध (गर्भाधानादि संस्कारविशेषमा गरिने), दैविक श्राद्ध (देवी-देवताका लागि गरिने), यात्रा श्राद्ध (तीर्थयात्रा जानअघि र कतै विशेष यात्रामा निस्कनुपहिले यात्राअनुकूलताको कामनामा गरिने), पुष्टि श्राद्ध (स्वास्थ्य, अवस्था तथा समग्र हितका लागि गरिने) आदि श्राद्धका विशेष प्रकार मानिएका छन् । पुनश्च: सम्प्रदाय र परम्पराअनुसार श्राद्धका प्रकार फरक रहनु स्वभाविक हुनआउँछ र उल्लेखित अवस्थाबाहेकमा सोहीअनुसार बुझिदिन आग्रह निवेदन छ ।

श्राद्ध कसरी गर्ने ?

आफूलाई जन्मदिने मातापिता र यस्ता लौकिक-अलौकिक-परलौकिक कडी जोड्ने सारा तत्त्वको सम्मानमा गुरुपुरोहितका उपस्थितिमा विविध मन्त्रोच्चारणसहित पिण्डदान, तर्पण, गुरुभोजन, सिधादानजस्ता कार्यसहित अङ्गपुर्याएर श्राद्ध गरिँदैआइएको परम्परा छ । सम्बन्धित स्वजन जम्मा भएर मिलेसम्म पितृप्रसादसहित संयुक्त भोजन श्राद्धको कडी हुनेगरेको बताइन्छ । परोपकारी लोकमतले श्राद्धका दिन गरिने पिण्डदानादि कार्यको औपचारिकता सकेपछि दिवङ्गत स्वजनको आत्माशान्तिको कामना र आत्माशीषको ध्येयले केही नगद तथा खान्तेपिन्तेको सामान आवश्यकताका वर्गमा पुर्याइ वितरण गर्नुपर्छ र पुन्य कमाउने कुरामा थपअग्रसर हुनुपर्छ भन्दछ । तर्पणादि विधि भने सम्प्रदाय र संस्कारअनुसारको कर्मकाण्डले निर्देशित गरेको हुन्छ नै, उचित प्रचलन अनुसरण गर्नगराउन वाञ्छनीय मानिन्छ ।

स्मरण रहोस् – श्राद्ध गर्ने अघिल्लो दिन जो एकछाकीको दिनसमेत भनेर चिनिन्छ सम्बन्धित श्राद्धकर्ताले आफ्नो नङ काट्ने, केश मुण्डन गर्ने र स्नानले शुद्धहुने कर्म गर्नुपर्ने चलन छ ।

श्राद्धबारेका मत के-कस्ता छन् ?

सनातनीभित्रका खेमा तथा सम्प्रदाय फरक रहेसँगै श्राद्धका विधिविधान र लोकपरम्परा फरक छन् । सोहीअनुसार विचार फरक पर्नु स्वभाविक हुनपुग्छ । समग्रमा श्राद्ध यानि सरादबारे यदाकदा कर्णगोचरमा रहनेगरेका केही विचारहरू यहाँ प्रस्तुत गरिएका छन् ।

  • दाहसंस्कारदेखि वार्षिक श्राद्ध विधिवत पूरा भएपछि मृतकले पितृलोक प्राप्त गर्छन् र सम्बन्धितबाट पिण्डपानीको आश राख्ने हुँदा उनै आत्मालगायतका स्मरणीयहरूको नियमित तृप्‍तिका लागि वर्षेनी श्राद्धको परम्परा बसेबसाएको हो ।
  •  दिवङ्गत व्यक्तिको विधिपूर्वक सद्गत गरेपछि र सपिण्डीसमेत हुने र रीतअनुसार स्वर्गबासको उपती गरिने हुनाले वर्षैपिच्छे आत्माकल्याणको कुनै कार्य गरिरहनु नपर्ने । जस्तो वैष्णवले वैकुण्ठोत्सव र कृष्णप्रणामीले गोकूलोत्सव गर्दै दिव्यधाम प्राप्तिको अनुष्ठान सम्पन्नतापश्चात् पितृकल्याणको कर्म आफ्नो मनशान्तिको पितृसम्मान र लोकाचारमात्रै रहने कतिपयको तर्क छ । सोझो मनका कतिपय भने आफ्ना पितृ कुनै योनिमा होलान् र पितृकार्यमार्फत् पुग्ने दानापानीले नियमित उर्जा पाइरहलान् ठानी आफ्नो गच्छेअनुसारको दानपुन्यमा भगीरथ प्रयत्नमा लागेको पाइन्छ ।
  • आफ्नो भूमिमा बसेर तथा आफ्नो घरपरिसरमा मात्रै महालयजस्ता श्राद्ध गर्नुपर्छ । त्यस्तो नभए तीर्थस्थलमा गरिनुपर्छ । सुकुम्बासी तथा यायावरले पनि त स्वजनको श्राद्ध गर्छन् र फल तथा मनेच्छा सम्बोधन गर्छन् । त्यसैले स्थानविशेषमा होइन मनको पवित्रता र श्रद्धाभाव मुख्य कुरो हुनआउँछ । गोदानादि प्रसङ्गमा यदाकदा गरिएजस्तै निष्क्रयको चलन स्थानविशेषमा पनि रहेको यसर्थ स्मरणीय रहन्छ ।
  • श्राद्धमा बोलाइने आफन्तमा ज्वाइँ, भिनाजु, चेली, भानिज आदि खास मानिने चलन छ भने सालासाली, सोल्टीसोल्टिनी, माइती पक्ष आदि आउनु अथवा बोलाइनु अनौठो मानिन्छ । पितृप्रसाद भने कर्तावर्गले मात्र ग्रहणगर्ने परम्परा धेरैको छ । पिण्डमा नचढाइएको र भान्सामा पित्रिभोग लगाएकोबाहेक अरू खानेपिउने कुरा उपस्थित सदस्यमा बाँड्न बाधा नपुग्ने भनिन्छ ।
  • श्राद्ध देखाउनका लागि गरिने कर्म नभएकाले मधुर स्वरका गुरुवचनसहित गुप्त रूपमा गर्नु उत्तम मानिन्छ । कसैको उमेर, आम्दानी, दानजस्ता नौवटा कुरा गोप्य राखेको वा सार्वजनिक गर्दै नहिँडे राम्रो हुने भनिएकाले श्राद्ध खर्च र दानको बिषय गौण राखिनु उचित बुझिन्छ । जमानाअनुसारको कुरो भन्नेहरू फरक मत राख्नसक्छन् ।
  • सरादमा घ्यु अनि अदुवा लाएको कालो मासको दाल, आलु अनि बोडीको तरकारी तथा केराको बुङ्गा अनि केराउको अचार धेरैले चलाएको पाइन्छ । रहरीको दाल र लौको अनि कुभिण्डोको तरकारी तथा लसुनप्याजसहित वा रहितको गोलभेँडाको अचार नचलाउनु भन्नेहरू धेरै भेटिन्छन् । खानपिनका यस्ता कुरा तर आआफ्नो चलनअनुसार फरक पर्नेगरेको भेटिन्छ । चलीचलाइ आएको परम्परा, स्थानअनुसारको सामाग्री प्राप्यता र प्रयोगकर्ताको स्वास्थ्य हेर्ने अरू धेरै छन् ।
  • पितृपक्षमा गरिने श्राद्ध प्राय: अपराह्नमा, एकोद्दिष्ट मध्यान्नमा र आभ्युदयिकश्राद्ध (मङ्गल समय जुराएर जहिले नि गर्नसकिने भनिएको शुभेच्छित श्राद्ध) प्रातःकालमा गर्ने मान्यता प्रखर छ ।
  • गाईको दूध, मह, पवित्र नदीको जल अनि काँस वा तामाका भाँडा, सालका पातको टपरी, तुलसी पत्र तथा मञ्जरी, पहेलासेता फूल, पहेँलो टीका भनेपछि सराद सम्झिने धेरै जन छन् ।
  • एकछाकीको दिन र सरादको दिन खनजोत नगर्ने र कलाकारखाना निर्माण अनि मर्मतको काम नगरेको राम्रो मानिएको छ ।
  • जलाञ्जली तथा स्मरणीयमा वन्दना नियमित कार्य मान्नेले र सनातनी प्राय:ले स्नान र नित्य शुद्धिपछि तर्पणसहित श्राद्ध सुरु गर्छन् भने कतिपयले पिण्ड सेलाएर आउँदा पवित्र नदी तथा जलसरोवरमा स्नान गर्नैपर्ने भएकाले तत्पश्चात् तर्पण गर्ने र दानदक्षिणातर्फ लाग्ने गरेको बुझिन्छ । समय र अवस्थानुसार सरादमा तर्पण-पिण्डलगायतको विधि पुर्‍याउनु उचित हुन्छ भने विकल्पका रूपमा सिधादानको पनि प्रचलन व्याप्त छ । अनाथालयमा खुवाउने तथा आश्रितवर्गमा सहयोग पुर्याउने दानादि कार्य उत्तिकै सान्दर्भिक मानिआइएको छ ।
  • शुद्ध मनका अशल गुरुपुरोहित द्रव्यदक्षिणाका लालची रहँदैनन् र दानादि कार्यमा मोलमोलाइ गर्दैनन् भन्ने मान्यता रहन्छ । आमन्त्रण गरेर आएको भनी यजमानलाई चेप्ने र अन्यथा किचोलो निकाल्नेले संस्कार अल्मल्याउने बुझिन्छ । त्यसैले, गुरुवर्गले पनि अन्यथा नमान्ने र यजमान पक्षले पनि समयसन्दर्भ हेरी टोलछिमेकमा गलत दररेट बस्नेबसाउने अभिप्राय नराखी दानदक्षिणाको संस्कार धान्न उचित रहने विश्वास आम छ ।
  • एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा सोही प्रायोजनका लागि जानुहुँदैन भन्ने एक शास्त्रीय मत रहेको भनिन्छ । त्यसैगरी एक यजमानकहाँ भोजन गरिसकेपछि निज पुरोहितले अर्को स्थानमा कर्मकाण्डीय कुनै कार्य उतार्न नहुने भनिन्छ । समयको अन्तरालमा परम्परा धान्न गुरुपुरोहितहरूले हर पैत्रिक कर्म गराएपछि स्नान गर्ने र शुद्ध बनेर अर्को स्थानमा जाने गर्नुपर्छ । अनि, जल, दूध, फल आदि ग्रहण गर्न उत्तम हुनेछ भन्ने भनाइहरू मुख्यगरी सोह्रसरादमा बहसको विषय बन्नेगरेका छन् ।

    सराद(नबुझेर वा अपभ्रंश गरेर कतिले सराद्दे पनि भन्ने सुनिएको) का दिन कर्म सकेर पनि कर्तावर्गले अरूका घरमा अन्नादि भोजन गर्नुहुन्न भन्ने मान्यता छ ।

  • श्राद्धतिथि वा पक्षका आसपास सम्बन्धितले सपनामा आत्माले रूप लिएर आएको देख्नु र सामान लिएदिएको देख्नु व्यक्तिको मनोवस्था जाहेर गरेको बुझिने हुनाले सो तिर्सनाजन्य कुरा अन्यथा दोषमा नलिइ मनबुझाउन आग्रह गरिनुपर्छ ।
  • श्राद्धपद्धतिले निर्देशित गरेका विधिले वार्षिक रूपमा श्राद्धकर्म उतार्ने गरिएको भएतापनि तिथि पारेर गाईको पूजा गरी स्नेही आत्मा सम्झिने कतिपय छन् भने कोही पहिलो वर्षदिने श्राद्धपछि प्रसिद्ध देवस्थलमा (जस्तो नेपालमा विष्णुपादुका वा गोकर्णमा र भारतमा गया तथा बनारसमा) कुनै साल श्राद्ध गर्नपुगे फेरिफेरि स्थूलाकारमा श्राद्ध गरिरहनु नपर्ने तर्क गर्छन् । कतिले पाँच वर्षसम्म नियमित श्राद्ध गर्ने र पछि स्मरणसम्म गर्ने तर सरादको कर्म थाती राख्नेसमेत गर्नेगरेको अभ्यास छ ।
  • अरू बेला केही नगर्नेले पनि पितृहरूको महामेला वा पैत्रिक कुम्भमेलाका रूपमा लिइने सोह्रसरादमा सम्बन्धित सबै सम्झेर वा अमूक नाममा एक दिन अवस्य तर्पणपिण्डको कार्य गरे सन्तानको कर्तव्य पालना गरेको बुझिने विश्वास सान्दर्भिक मानिन्छ ।

आफ्नो संस्कार आफ्नो परिचय, आफ्नो पनको लय स्वाभिमान सय ! हाम्रा मातापिता हाम्रा पूर्वज थिए र हामी छौं त्यसैले उनीहरूप्रति हाम्रो धार्मिक तथा सांस्कृतिक दायित्व रहन्छ भन्ने बुझी आफ्ना अग्रज सदस्यको आजीवन सम्मान गर्न र मरेपछि पनि स्मरण कायम राख्न जरुरी छ भनेर सुसन्देश प्रचार तथा सम्बाहन गर्ने श्राद्धजस्तो कार्य अपरिहार्य छ । यस्ता कुरामा भय नराखी कर्तव्यका रूपमा अघि बढाउने कुरामा सम्बन्धित सबै लागिपर्नुको विकल्प छैन भन्ने आत्माबोध, कर्मकाण्डी (कतिपय ठेउकेले यस विशेष शब्द र प्रथाको अन्यथा हेयभावमा प्रयोग गरेकामा ‘आपत्ति’ भन्दै) समझ र सुव्यवहारको सङ्केतसहित माथिउल्लेखित कुराले छुने सबैमा नमस्कार ।

  • अध्यापक, नारायण नेपाल समसामयिक, साहित्यिक तथा राजनिती विषयबस्तुमा कलम चलाउँछन्।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com