कैलालीका २५ वर्षीय अर्जुन दास गत पुस २ गते शुक्रबार घर फर्किएनन्। जानकी गाउँपालिका-९ का उनी साँझ साथीहरूसँग हिँडेका थिए। तर भोलिपल्ट शनिबार बिहानसम्म पनि उनी फर्किएनन्।

आफ्ना श्रीमान् कहाँ गए श्रीमती धर्मालाई थाहा थिएन। उनले बिहानै गएर छिमेकमा सोधिखोजी गरिन्। कसैले पनि अर्जुन कहाँ गए भन्न सकेनन्।

त्यही दिन दिउँसो उनको मोबाइलमा एउटा अडियो आयो। त्यो अडियोको कुरा सुनेर धर्मा सिधै इलाका प्रहरी कार्यालय लम्कीमा पुगिन्।

त्यसमा भनिएको थियो, ‘भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ, हामीले गरेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं।’

धर्मा प्रहरीकहाँ पुगेको केही समयमै अमरावती सामुदायिक वनमा शव फेला पर्‍यो।

वनका कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव रूखमा बाँधिएको र टाउको छिनालिएर भुइँमा राखिएको अवस्थामा फेला परेको थियो। त्यो शवको सनाखत धर्माले गरिन्। शव अर्जुनकै थियो।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गर्दै थियो। कार्यालयले खोजतलासको लागि देशभरका सबै प्रहरी युनिटहरूलाई खोजी गर्न भन्दै अनुरोध गरेको थियो।

त्यस अनुरोधसँगै काठमाडौंबाट महानगरीय अपराध महाशाखाको प्रहरी नायब उपरीक्षक कृष्ण चन्दको विशेष टोली पनि जोडियो।

‘हामीले सूचना संकलन गरिरहेका थियौं,’ महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘तत्काल घटनापछि उनीहरू भारत भागेका थिए। अहिले पक्राउ परे।’

उक्त टोलीले घटनामा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका सुमित साउद, बमे भन्ने बमबहादुर बोहोरा, रोनी भन्ने दिलिप दास र मनोज भण्डारी छन्।

सुरूमा प्रहरीले सोही ठाउँका कमल साउद भन्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। धर्मालाई अडियो पठाउने व्यक्ति कमलनै थिए।

अर्जुनको हत्यामा उनको पनि संलग्नता होला भन्ने हिसाबमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। तर उनको हत्यामा कमलको संलग्नता नभेटिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

‘त्यो मनोजले कमलसँग कुराकानी गरेको अडियो थियो। कमलसँग कुरा भएको हुँदा आफू पनि फस्छु भन्ने डर र आफ्नो यसमा कुनै संलग्नता नभएको देखाउन उनले धर्मालाई अडियो पठाएका हुन्,’ प्रहरी उपरीक्षक कोइरालाले भने।

कमलविरूद्ध जबरजस्ती करणीको मुद्दा दायर भयो। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

हत्यामा संलग्न नभए पनि हत्याको कथामा भने उनी पनि जोडिन्छन्।

घटना हुनु तीन दिनअघि मात्रै कमल साउदले एक युवतीसँग शारिरिक सम्बन्ध राख्दै गर्दा रंगेहात फेला परेका थिए। ती युवतीकै बुवाले फेला पारेपछि उनी आपत्तिजनक अवस्थामा भागे।

‘उनी आपत्तिजनक अवस्थामा थियो। त्यसरी नै उनी भाग्नसक्ने अवस्था नभएपछि उनले सुमित साउदलाई बोलाए,’ प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले भने, ‘त्यो लुगा ल्याइदिएपछि कमलले लगाए। त्यसपछि दुबै जना कमलकै घरमा गए।’

धेरै अबेर भइसकेको हुँदा कमलले सुमितलाई पनि आफ्नै घर जान भनेका थिए। त्यसपछि उनीहरू कमलको घरमा गए।

भोलिपल्ट बिहान सुमित चिया खाएर कमलको घरबाट निस्किए। त्यतिबेला अर्जुन दिनैजसो कमलको घरमा काम गर्न आउँथे। ब्लक टाइल बनाउन उनी  बिहान १० बजे कमलको घर पुगिसक्थे।

‘अर्जुन प्रत्येक दिन टाइल बनाउन आउँथे। त्यो दिन पनि आए,’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सुमित गइसकेपछि कमलले आफ्नो मोबाइल भेटाएनन्। त्यसपछि त्यसैले चोरेर लग्यो भन्ने सोचे।’

अघिल्लो दिन आफ्नो घरमा आएका सुमितले नै मोबाइल चोरेको आशंका कमललाई भयो। कमलले रिसाएर सुमितलाई कुटे। उनले फोन भने भेटाएनन्।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार कमल पब्जी समेत खेल्थे। गेम खेलेरै उनले ‘रिवार्ड’हरू पाउन लागेका थिए। धेरै महंगो पैसा तिरेर मात्रै रिवार्ड  पाइन्छ।  त्यसैले पनि उनलाई त्यो फोन महत्वपूर्ण थियो।

‘सुमितले कुटाइ खाएपछि उनले गएर मनोज भण्डारीलगायत साथीहरूलाई सुनाए। नांगो अवस्थामा भेटिएको मान्छेलाई लुगा लगेर हेल्प गरिदिएँ। सुत भनेर घर ल्याएँ। पछि कुट्यो भनेर सुनाए,’ उनले भने, ‘त्यो कुरालाई मनोज भण्डारीको समूहले सामान्य रूपमा लियो।’

चोरी भएको भोलिपल्टै मोबाइल अर्जुनले लिएको सुमितले थाहा पाएछन्। अर्जुनले फोन चोरेपछि सिम भाँचेर हर्के भाटलाई दिएका थिए।

हर्केले त्यो फोन बेच्न खोजिरहेको थाहा पाएपछि आफूले बेचिदिने भन्दै सुमितले लगे। उनले मोबाइल अर्जुनले चोरेको भन्दै कमललाई लिएर बुझाइदिए।

कमलले यो कुरा बाहिर ल्याउन चाहेनन्। अर्जुनले आफ्नो काममा सघाइरहेको हुँदा त्यसलाई अहिले नै नखुलाउन भन्दै कमलले सुमितलाई सुझाए।

त्यो कुरा सुमितले आफ्ना साथी मनोजलाई गएर सुनाए।

‘उनीहरूको एउटै ग्रुप हो। सुमितले मनोजलाई सबै कुरा सुनाएका थिए,’ प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने, ‘त्यसपछि आफ्नो साथीलाई बिनाकारण कुटेको भन्दै उनीहरू रिसाए।’

उनीहरू सबै जना लागुऔषध सेवनकर्ता समेत हुन्।

अर्जुनको हत्या भएको ठाउँमा बसेर उनीहरू लागु औषध सेवन गर्थे। यता कमल लागु औषध नाइट्राभेटको कारोबार समेत गर्थे।

त्यसपछि उनीहरूले अर्जुनलाई कुट्ने र कमलको नाइट्राभेट चोर्ने योजना बनाए।

लागुऔषध चोरी गरे प्रहरीमा पनि उजुरी गर्न नसक्ने भन्दै उनीहरूले करिब २५ हजार बराबरको नाइट्राभेट चोरेर जंगलमा लुकाए।

अर्जुन पनि उनीहरू जस्तै लागुऔषध सेवनकर्ता भएको प्रहरीको भनाइ छ। त्यही लागुऔषध सेवन गर्ने भन्दै उनी सुमितसँग जंगलमा गए।

अर्जुनलाई आफूमाथि कुटपिट हुँदै थियो वा त्यस्तो घटना हुन लागेको भन्ने थाहा थिएन।

त्यहाँ बसेर उनीहरूले लागुऔषध सेवन गर्न थाले। उनीहरू सबै जना लठ्ठिएपछि मोबाइल चोरीको कुरा निकाले।

‘मोबाइल चोरी गर्ने तँ, कुटाइ खाने हाम्रो साथी भन्दै उनीहरूले मिलेर कुटे,’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘मनोजले रूखमा बाँध भनेपछि अरूले अर्जुनलाई बाँधे।’

त्यस समूहमा सुशील मयाल, बादल बिक, करण दर्नाललगायत पनि थिए।

कुटपिट गरिसकेपछि पनि उनीहरूले लागुऔषध सेवन गर्न छाडेनन्। उनीहरूले पुस २ गते शुक्रबार साँझ ६ बजेदेखि मध्यराति १२ बजेसम्म लागुऔषध सेवन गरेको बताएका छन्।

त्यसपछि उनीहरूले अब अर्जुनको हत्या गर्नुपर्छ भन्ने सोचे।

त्यो सोच आएपछि सुशील मयालसँग घरमा खुकुरी लिन गएका थिए। तर उनी घरबाट नआएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

‘उनको घरमा कार्यक्रम भएको हुँदा फर्किएनन्। तर खुकुरी दिएर अरूलाई पठाए,’ उनले भने।

खुकुरी ल्याएपछि सुरूमा मनोजले प्रहार गरे। उनले तीन-चार पटक प्रहार गरे। त्यसपछि क्रमश: दिलिप र सुमितले प्रहार गरेर टाउको छिनाले।

‘घाँटी छिनालेर राख्यौं। अनि हामीले आगो बालेर फेरि त्यतै सुत्यौं,’ मनोजले दिएको बयान उदृत गर्दै एक प्रहरीले भने, ‘त्यतिबेला हामीलाई केही मतबल थिएन। हामी साढे ४ बजे उठेपछि मान्छे मारेर बसेका छौं भन्ने याद आयो। मन आत्तिन थालेपछि के गर्ने के गर्ने भयो त्यसपछि भारत भाग्ने भन्ने भयो। म सँग पैसा पनि थियो।’

प्रहरीका अनुसार त्यतिबेला मनोज भारतबाट केही दिनअघि मात्रै फर्किएका थिए। उनी काठमाडौंमा पढ्न आउने योजनामा थिए। त्यसको लागि उनले घरबाट सात-आठ हजार भारू पनि लिएका थिए।

त्यही रात उनीहरू जंगलको बाटो हुँदै हिँडेर भारत पुगे।

त्यहाँबाट उनीहरू दिल्ली भागे। दिल्लीबाट मुम्बई गए। उनीहरूले त्यही बसेर भिडिओ बनाएर सामाजिक सञ्जालमा समेत हालेका थिए। प्रहरीलाई समेत होच्याउने गरी उनीहरूले भिडिओ सार्वजनिक गरेका थिए।

तीन महिनापछि उनीहरू कामको खोजी गर्न नेपाल फर्किन लागेको सूचना प्रहरीले पायो।

‘उनीहरू बोर्डर एरिया रूपन्देहीको सिदार्थ नगर-१ बेलहियामा आएको खबर पायौं,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘काम खोज्न भन्दै उनीहरू आएको र लुकिछिपी बसेको भन्ने सूचना आयो। त्यसपछि भैरहवाको प्रहारीसँग समन्वय गरेर हामीले पक्राउ गरेका हौं।’

महाशाखाको टोलीले बिहीबार उनीहरूलाई बेलहिया सीमा नाकाबाट पक्राउ गरेको हो।

यस घटनामा १० जनाको संलग्नता भएकोमा प्रहरीले ४ जनालाई मात्रै समातेको छ।

सुरूमा आठ जनाको मात्रै संलग्नता भएको खुले पनि पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ गर्दा १० जना भएको बताएका छन्।

पक्राउ परेका चारै जनालाई आजै कैलाली पुर्‍याउने महाशाखाको तयारी छ। यस्तै अरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com