- अध्यापक, नारायण नेपाल
कोजाग्रत पूर्णिमाको विशेष रिवाजसहित यसपालिको दशैँ मैजारोमा पुगेको छ । बेग्लै धूमधामको रहने यो पर्व नेपाली जनमानसमा खास महत्वको रहनेगरेको र यसपालि पनि निधारमा रातो टीको लाएर शिरमा जमरा सिउरेर उल्लासमय वातावरणमा दशैँ विदा भएको धेरैको टिप्पणी छ ।
केही प्राकृतिक प्रकोपको पीडाले थलिएको अवस्था भएपनि पिर भुली पर्व मानिएको पाइएको छ । बाढीविरुद्ध सावधानी अपनाउन नसकिएको गुनासो एकातिर थियो भने सडकजस्ता संरचना बनाउने निकायले सुरक्षित र वातावरणमैत्री कदम नचाल्दा क्षति बढेको कतिपयको ठहर थियो र पीडितको उद्दार र यथोचित राहतको कामनामा पनि उल्लेख्य मानिसले दशैँको आशिर्वाद थपनी गरेको बुझिनु पर्वले दिने मानवीय सन्देश प्रष्ट हुन्छ। मानिसका समझ, दायरा तथा प्रभावअवस्थाअनुसार दृष्टिकोण फरक रहने गरेबाट कतिपयले दशैँलाई आरामको पर्व, कतिले शरदको पूजन, कतिले शक्तिको उपासना अनि कतिले असत्यमाथि सत्यको विजयको द्योतकका रूपमा मनाए। मातापिता र पूर्खाले मानिआएको परम्परा मनाएर स्वधर्म र अपनत्व आत्मसात गर्ने ध्येयले धेरैले यस्ता पर्व विनाप्रश्न र निसन्देह मनाउँदै सामाजिक-साँस्कृतिक सम्पदा जोगाउनुपर्ने आवाज प्रखर छ ।
सनातन-वैदिक धर्म यानि हिन्दूहरू मुख्यत: यो पर्व सबैभन्दा ठूलो पर्व अर्थात् महान् चाडको रूपमा मनाउँछन् । यो मत देशको बहुसङ्ख्यक जनताको हो र यसलाई उनीहरू साँस्कारिक भव्यताको प्रतीकको रूपमा मान्नेगर्छन् । घटस्थापनासितै जमरा राखेर शक्तिस्वरूपा दुर्गा भवानीका विभिन्न नौ रूपको पूजाजाप गर्दै विजयोत्सवका रूपमा टीकाप्रसाद ग्रहण गर्ने चलन छ । यस्तो टीको परिवार सदस्य भएमिलेसम्म एकजुट भइ वरिष्ठ सदस्यको हातबाट लिनेगरिन्छ ।
मान्यवर व्यक्ति अन्यबाट पनि टीका लाउने र आशिर्वाद लिने यस पर्वको विशेषता रहीआएको छ । हजुरबुवा-हजुरआमा, ठूलाबा-ठूलीआमा, काका-काकी, मामा-माइजु, सानीमा-सानाबा, माइत, मावल, ससुराल आदि मानिआएका आफन्तकहाँ र स्थानमा जाने र टीकाजमरा थाप्ने परम्पराले यस साँस्कृतिक समूहका जोकोहीको भाव पुलकित गरेको हुन्छ । यसै क्रममा एकाघर सगोलमा रहेका वा छुट्टिएर बसेका आफन्त भेटगर्ने अनि आपसी प्रेम र सद्भावको पुनरावृत्ति गर्ने दर्बिलो कसीका रूपमा दशैँ उभिनेगरेको छ । यो चाडले सरसम्बन्धमा रहेभएका रिसईबी भुलेर पनि जिन्दगी उजिल्याउन सम्झाउने धेरैले ठानेका छन् । दल र आस्थाका प्रमुख वा मानिएका अग्रज सबै नै यस्ता पर्वहरूमा व्यस्त रहनेगरेको भेटिनु मौलिकताको सञ्चारको व्यापकता भन्न रुचाउने पनि छन् । जस्तो कि शीतल निवास र निर्मल निवास अनि विभिन्न गुठीमा सम्बन्धित टीकाप्रत्यासी उल्लेख्य भेटिनाले दशैँको महत्व उठाएकै भान हुन्छ ।
लामो विदा र स्वजनभेट, नयाँं कपडा र मौलिकताको मिठास, विशेष खानपान र मनोरञ्जन, सम्मान र माया, सद्भाव र समझदारी, आदि दशैँका अङ्ग हुन् । आस्था, प्रथा, सामाजिकता आदि यसमै निहित रहन्छन् र पर्वलाई खास बनाउँछन् ।
दशैँबारेका टीकाटिप्पणी पनि कम सन्दर्भयुक्त हुन्छन् र ? यो पर्व अभिभावक पर्वका रूपमा देशविदेशमा मानिएको छ । दशैँ आयो कि खाउँला-पिउँला भन्दै गनिने औँला बालसुलभ मिजास खोल्छन् भने कहाँबाट ल्याउँला भन्ने पाटोले श्रोत व्यवस्थापनाका प्रौढ भाव उजागर गर्छन् । कर्मचारी बोनस पाउँछन् भने धेरैजसो काजसहयोगीहरूले पनि थप गोजीखर्च उठाउनेगर्छन् । बजारमा किनमेल बढ्छ र आश्रितको आर्थिक टेवा हुन्छ । यातायात खचाखच चल्छ र पर्यटन उत्तिकै बढेको हुन्छ । घरटोल लिपपोत गरिएको हुन्छ अनि कर्मभूमिबाट आफ्नो मानिएको ठाउँँ फर्किँदा त्यहाँ चल्ने इष्टमित्रसितको भलाकुसारी मुटु र मस्तिस्क दुवै जोड्नेखालको प्रतीत हुन्छ । चन्द्रमामा पनि दाग हुने भनिएझैँ बलीप्रथा विवादको विन्दु हुनपुग्छ कति ठाउँमा ! बली बलिदानको विषय भएकाले निर्दोश प्राणीको हत्या हुनुहुन्न बरू आफूमा निहित अहङ्कार र कुमतिको त्याग गर्नुपर्ने भन्ने केहीको तर्क रहन्छ भने यो ग्रहीय जैविक प्रणालीमा एक नमरी अर्को नबाँच्ने सत्यता अन्यथा सन्दर्भमा जोड्ननहुने केहीको ठम्याइ । शाकाहारी र मांसाहारीविचको विवाद पनि झण्डीमुकुट खेलजस्तै चर्चामा रहन्छ यतिखेर । एकै खेमाभित्रको विवाद एक पाराको छ भने जनावरअधिकारकर्मी भनिनेहरू अनि फरक धार्मिक एजेन्ट एक मत गरी फरक नाटकीय मञ्चनमा जुट्छन् बेग्लै रङ्ग भर्छन् । युरे-मेरिकामा डिसेम्बर-जनवरीताका मारिने खरबौँका साल्मोन तथा व्हेल अन्देखा गर्ने र अन्यत्र हलाल गरिने प्राणीबारे अनभिज्ञ बसेझैँ गर्ने अनि यहाँ चल्ने लाखमुनिका बलीको विरोधमा सर्वस्व खर्चिने उनीहरूको पेशा अचम्मको मानिन्छ । यसैगरी, टीको रातो हुनुपर्छ भन्ने धेरैको तर्क छ । रातो रङ्ग बारेकाले सेतो लगाउँछन् भने विरोध आवाजका केहीले कालो । रातो रगतको प्रतीकमात्रै नहुनसक्छ अनि रङ्गको आविस्कार अघि सेतो टीको नै वेशेष प्रायोजनको थिएन भन्न पनि नसकिएला । पङ्क्तिकारले सानामा सिमीको पात निचोरेर कुरोको बियाँमा हाली हरियो टीको लगाएर टीकाबाजी खेलेको यहाँ साझा गरेको सान्दर्भिक हुनसक्छ कतिपयलाई । यतिबेलै रहेछ क्यार गुनासो गर्नेको पनि पखेँटा पलाउने ! त्यसैकसो भएर हो ‘आयो दशैँ ढोल बजाई गयो दशैँ रिन बोकाई’ भन्नेहरू पनि छन् जो दशैँ र दशा सँगै बुझ्नेबुझाउनेसमेत गर्दछन् । गच्छेअनुसार पर्व धान्ने र आपसी हितको बात अन्यथा नगरी आआफ्ना संस्कार मान्ने विशिष्ट पद्दति सम्बन्धित सबैले अनुशरण गर्नुपर्ने कतिले भनेका पनि छन् ।
धेरैजसोको बुझाइमा दशैँ आदिम सभ्यतासितै जोडिएको बुझिनु उचित मानिन्छ । सुर-असुर सङ्ग्राम, देव-दानव लफडा आदिका धार्मिक टुक्का जोड्नेहरू यसलाई विजयदिवश मान्छन् र रावणमाथिको रामको विजय अनि शुम्भनिशुम्भादि राक्षसविरुद्ध देवीको जीतको हर्षबढाइँका रूपमा दशैँ मान्नेगरिएको मत राख्छन् ।
शरदको मध्यप्रभावी समयमा रमाइलो गर्ने पर्व कतिपयले सोच्छन् त कतिले निश्चित राजाले बसालेको विशेष चलन ठान्छन् । द्वेषको राजनीति गर्ने कतिपयले यो पर्व जबर्जस्ती लादिएको संस्कार भनी विरोध गरेकोसमेत पाइन्छ । विरोधका लागि विरोध भन्दापनि द्वेष घटाउँदै र सद्भाव र सहिष्णुता बढाउँदै हामी सबै अघिबढ्नुको विकल्प नहोला । भन्नैपर्छ, जमरे औँशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मनाइने यो पर्व दशैँ समस्त नेपाली र नेपालीपनको साझा साँस्कृतिक धरोहर बनाउँदै लैजान सकियोस् । यो देशको परिचयलायक पर्वको सम्पूर्णमा शुभकामना !
- अध्यापक, नारायण नेपाल समसामयिक सामाजिक, राजनैतिक तथा साहित्यिक क्षेत्रमा कलम चलाउँछन्।
प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार
प्रतिक्रिया