काठमाडौँ । काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गरेको छ।

आजको जितसँगै नेपालले दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

जितसँगै २ खेलबाट ४ अंक जोड्दै नेपाल समूह ‘बी’ को शीर्षमा उक्लिएको छ। आफ्ना दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १-० ले पराजित भएको थियो।

आज (सोमवार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई शानदार जित दिलाउने क्रममा रेखा पौडेलले ५ गोल गरिन् भने प्रीति राईले ३ तथा सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले १/१ गोल गरे। रेखा प्लेयर अफ द म्याच भइन्।

माल्दिभ्समाथि पूर्णतया हावी भएको खेलको छैटौँ मिनेटदेखि नै गोल गर्न थालेको नेपालले खेलको नसकिउन्जेलसम्म गोलको वर्षा गरिरह्यो।

पहिलो हाफ सकिँदा नेपाल ४-० गोलले अगाडि थियो। रेखाले खेलको ५८औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ५-० मा पुर्‍याएकी थिइन्।

अब समूह चरणको अन्तिम खेलमा बिहीवार नेपालले श्रीलंकासँग र माल्दिभ्सले भुटानसँग खेल्नेछन्।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com