नजरको बाटो दिलमा पस्ने तिमी नै हो !
मेरो देब्रे छातीभित्र बस्ने तिमी नै हौ !


-नारायण नेपाल

मनपरेको मान्छे दिल यानि मुटुमा बस्ने अनि हाम्रो मुटुको शारीरिक अवस्थिति छातीको केन्द्रतल हल्का देब्रेपट्टि रहने भाष्य प्रेमगीतहरूमा बर्खामास जङ्गली च्याउसरह पाइने गरिएको जगजाहेर छ । मुटु चोरी हुने र दिलको महफिल सजाउने हरफ उत्तिकै भेटिने गरिएको छ । रमाइलोमा मुटु साट्ने र माया बाँट्ने अनेकौँ प्रसङ्ग बाँडिँदाछन् । दिलकुमार अनि दिलमायाका कतिपय जिन्दगी जोड्ने किस्साहरू पँधेरेगफ भैआएकै छन् । भन्नु परोइन माया के हो ! प्यार हो, प्रेम हो अनि प्रीति, प्रणय वा यस्तै अरू केही । सकिन्न पनि यही हो भनेर अर्थ्याउन ! यो अमूर्त भाव तनको प्यास हो न मनको हवश ! इष्टजनमा उजागर हुने स्नेह हो या मान्नुपर्नेलाई गरिने खातिरी ! आपसी सद्भाव पनि त यसैले बुझाउला । माया त्यसैले एक रहष्य एक तिर्सना वा केही मनोभाव । व्यक्त्ति, प्रसङ्ग अनि सुझबुझअनुसार बुझिने बुझाइने आत्मीय भाव हो माया र हो जिन्दगीको वास्तामयी हुटहुटी । पिरती यानि पिरेमदेखी वात्शल्यको सहभाव ! मिले जीवनको उर्जा, नमिले आँखाको तुष !

सन्दर्भले एक युवकको प्रेमावेश यहाँ सङ्केत गरिएको छ । एक स्नातक अध्ययनरत युवा केही सहपाठीको प्रेमालाप बुझ्नपुग्छन् र सपना बुन्नथाल्छन् काश आफ्नो पनि कोही प्रेमिल होस् ! नजर पर्छिन् मुसुक्क हाँस्ने प्राकृतिक सुन्दरतापूर्ण कोही सहपाठी र कल्पनाको यात्रा सुरुगर्छन् उनै सहपाठीसितको घरबारतिरको । हेराहेर भएजस्तो, आफ्नै भाव उता पनि आएकोजस्तो, कक्षामा उपस्थित हुँदामात्रै पनि जिन्दगीले उर्जा पाएजस्तो, सारा तनमनको तिर्सना एकै व्यक्तिको मुहारमा अल्झिएजस्तो कस्तो कस्तो ! दोहोरो वार्ता नाइँ, मन साटेको अवस्था नाइँ, तरपनि केही पाउनथालेको र कोही मायालु पाएझैँ उमेरसुलभ उत्सुकता र भावना जुहारी खेल्नथालेको निजले महसुस गर्नथाल्दछ ! क्रम जारी रहन्छ, सोचको यात्रा अलिक एकतर्फी भएछ र अन्तिम वर्षतिर मुस्कान फुल्ने चुनिएको मुहार अन्तै वगैँचामा सजिने खबर छाउनपुग्छ । सोचिएकी मायालुको परत्र कसैसँग बिहे हुने पक्काभएको हुन्छ र यता जोशिएको एक आत्मा एक्कासी धागो चुँडिएको चङ्गाको हताशमा रुमलिन पुग्छन् । नानजस्तो एकोहोरो पाक्नखोज्दा भुङ्ग्राको रोटी डढेजस्तो भएछन् र निस्किएछ बिलौनाको वर्षा जसको बाढीले जिन्दगीको स्वप्नील परिभाषा धमिल्याउनपुगेछ !

आख्यान लामो हुनसक्छ । यतिखेर यस्तै भाव बोक्ने एक गीतको सम्झना साझा गर्नखोजिएको हो । युवा गीतकार प्रमोद भण्डारी ‘हालतखराब’को शब्द अनि नेपाली सङ्गीतका भगीरथ बहुमुखी प्रतिभाशाली गायक तथा सङ्गीतकर्मी सी डी विजय अधिकारीको सङ्गीतमा तयार भएको ‘नाटक रैछ तिम्रो माया’ बेग्लै किसिमको ढुक्ढुकी लिएर कब्बाली स्वादमा अघि बढिरहेको यथार्थ सम्बन्धित सम्पूर्णमा स्मरण गराइएको छ । प्रस्तुत गीत अधिकारी अनि मेलिना राईको स्वरमा अलगअलग सुन्नसकिने छ र निजकै युटुब च्यानलमा उपलब्ध छ ।

‘साहित्य, सङ्गीत र कलाको सङ्गम जिन्दगीको सरगम’ भन्दै सबैमा यथोचित अभिवादन अनि उत्तरोत्तर प्रगतिको शुभकामना !

मायामा धोका खानेहरूले सुन्नैपर्ने एक फरक गीत बनाउने क्रममा सम्बन्धित गीतकार र गायक तथा सङ्गीतकारसित भेटेर खुशीलागेको छ: पङ्क्तिकार !

हेर्नुहोस् भिडिओ: 

 

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com