काठमाडौं । अभियन्ता भनेर चिनिने आशिका तामाङ आउँदो शुक्रबारसम्म प्रहरी हिरासतमै रहने भएकी छिन्।

भक्तपुरस्थित प्रहरी वृत्त जगातेले उनीविरुद्ध आपराधिक उपद्रवको मुद्दामा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो। मंगलबार अदालतमा भएको बयान र थुनछेक बहस नसकिएपछि उनलाई पुन: प्रहरीको जिम्मा लगाइएको छ।

‘अदालती प्रक्रिया नसकिएको कारण शुक्रबारसम्म प्रहरीकै जिम्मा लगाइएको हो,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। उनका अनुसार मंगलबार नै प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत मुद्दा अदालतमा दर्ता गराएको थियो। यसबीचमा सार्वजनिक बिदा परेकाले प्रक्रिया लम्बिएको हो।

मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ अन्तर्गत आपराधिक उपद्रवसम्बन्धी दफामा उल्लेख भएको छ कि कसैले यस्तो अपराध गर्न वा गराउन नहुने व्यवस्था छ। यस्तो कसुर गर्ने व्यक्तिलाई ५ देखि १२ वर्षसम्म कैदको सजाय हुने प्रावधान छ।

केही समयअघि साँगाको झोलुङ्गे पुल तर्दा लिइने २० रुपैयाँको टिकटप्रति विरोध जनाउँदै आशिकाले रसिद च्यातेकी थिइन्। यसै घटनामा सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रवको उजुरी दिएको थियो।

यसअघि, अभद्र व्यवहारको कसुरमा काठमाडौंको प्रहरी वृत्त गौशालामा आशिकाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहाइपछि उनी भक्तपुर प्रहरीको जिम्मा लगाइएको हो।

 

प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com