- सौरभ भण्डारी
तिनकुने घटना सर्वत्र चर्चा, चिन्ता र चुनौतीको विषय बनेको छ। राजसंस्था पुनर्स्थापनाको माग राख्दै चैत्र १५ गते तिनकुने क्षेत्रमा शान्तिपूर्ण रुपमा आयोजना हुने भनिएको कार्यक्रम औपचारिक सुरुवात हुनुभन्दा अगाडि नै एकाएक युद्ध मैदानमा परिणत भयो। राज्य संयन्त्रलाई संभावित घटनाबारे जानकारी थिएन भन्नू नै शंकास्पद देखिन्छ। बिदेशी कुटनितिक नियोगले घटना बारे पुर्वसुचना सार्वजनिक गर्नु र प्रधानमन्त्री ओलीले कुटनितिक नियोगको सुचनालाई सार्वजनिक रुपमै खिसिटिउरी गरेर उनिहरुले भने जस्तो केही नहुने बताउनुले सरकार प्रती नै प्रश्नचिह्न खडा हुने देखिन्छ। तिनकुने घटनापछि एकपक्षले अर्कोपक्षलाई दोषारोपण गरेर कोहि गणतन्त्र जोगाउन लागिरहेका देखिन्छन भने कोहि राजसंस्था पुनर्स्थापना गर्न झनै कम्मर कसेर लागेका देखिन्छन्। जसले जसलाई जस्तो आरोप लगाएपनी तिनकुने घटनाको जिम्मेवारीबाट सरकार भाग्न मिल्दैन। एक जिम्मेवार स्वतन्त्र संचारकर्मिको नजरमा घटनाको यथार्थ विवरण र विश्लेषण यहाँ जस्ताको त्यस्तै समेटेका छौं।
घटनाको पृष्ठभुमि
गत फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्रले जारी गरेको वक्तव्यले नेपाली राजनितीमा गणतन्त्र पक्षधरहरु माझ निकै नै त्रास सिर्जना गर्यो। राजा ज्ञानेन्द्रले राष्ट्रियताको सवालमा एकताबद्ध भएर आफुलाई साथ दिन आव्हान गरेपछी गणतन्त्र पक्षधर नेताहरु निन्द्रा बाट ब्युझिए र बरबराउन सुरु गरे। वर्तमान अस्तव्यस्थतालाई नजिक बाट नियालेका राजा ज्ञानेन्द्रले नेताहरुको बरबराहटको कुनै वास्ता गरेनन्। दल र नेताप्रतिको बितृष्णाले राजसंस्था नै उत्तम विकल्प हो भन्नेमा नेपाली जनता पुगेकोले होला राजा ज्ञानेन्द्रको फाल्गुन ७ गतेको उक्त वक्तव्यको चौतर्फी स्वागत भयो। त्यसै बिच राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कने क्रममा फाल्गुन २५ गते त्रिभुवन बिमानस्थलमा लाखौंको संख्यामा स्वागत गर्न पुगेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा राजसंस्था पुनर्स्थापना हुने विषयमा व्यापक चर्चा भयो।
स्रोतका अनुसार एअरपोर्ट देखि निर्मलनिवास सम्मको उत्साहपुर्ण सहभागीता देखेपछि केही राजावादीहरुले उक्त दिन नै राष्ट्रपति भवन शितलनिवास र प्रधानमन्त्री कार्यलय कब्जागर्न उक्साएका थिए तर राजा ज्ञानेन्द्रले ‘नो’ भनेपछी उक्त दिन कुनै अकल्पनीय घटना भएन। यदि राजा ज्ञानेन्द्रले ‘ओके’ मात्र भनेको भए त्यो भिड रोक्नसक्ने क्षमता अहिलेको सरकार सङ्ग थिएन भन्नेकुरा चैत्र १५ गते तिनकुने घटनाले प्रष्ट पार्छ।
त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले जागरण अभियान रोकेर गणतन्त्र धरापमा पर्ने भयो भन्दै गणतन्त्रवादीको मोर्चाबन्दिको प्रस्ताव लिएर काठमाडौ आए। तर काङ्ग्रेसले मोर्चाबन्दी नगर्ने भएपछि सत्तासाझेदार एमालेलाई प्रचण्डको प्रस्तावमा औपचारिक रूपमा सहभागी हुन नैतिक संकट पर्यो। तर समाजवादी मोर्चाको नाममा आधादर्जन राजनीतिक दलले चैत्र १५ गते गर्ने शक्तिप्रदर्शनमा एमालेको अनौपचारिक सहभागिता देखियो। त्यसै क्रममा दुर्गा प्रसाईंले पनि चैत्र १५ गते नै शक्तिप्रदर्शन गर्ने घोषणा गरे।
राजावादीहरु बिचकै नेतृत्व लिने विषयको असन्तुष्टि अन्ततः चैत्र १४ गते समाप्त भयो र नवराज सुवेदीलाई संयोजक बनाएर दुर्गा प्रसाईंलाई जनकमाण्डर घोषणा गरे।
झडपको सुरुवातदेखी
बिपरित ध्रुबका फरक-फरक शक्ति प्रदर्शनमा राजावादी र गणतन्त्रवादी बिच तिनकुनेमा झडप हुनसक्ने सुचना हामीलाई प्राप्त थियो। त्यसैले चैत्र १५ गते बिहान ११ बजेको लागि आव्हान गरिएको कार्यक्रममा ग्लोबल जर्नलिस्ट ग्रुपको टिम बिहान १० बजे नै कार्यक्रम स्थल पुगेको थियो। हाम्रो टिम त्यहाँ कार्यक्रम स्थल पुग्दा मञ्च बनाउने काम धमाधम भैरहेको थियो। राष्ट्रिय झण्डा बोकेर मान्छेहरू जम्मा हुँदै थिए। भिड बिस्तारै बढदै गएको थियो। बिस्तारै सडकमा सवारीसाधनको चाप कम हुँदै सडकमा मान्छेहरू भरिदै गएका थिए।
त्यसै बिचमा कोटेश्वर चोक तर्फबाट एक हजार भन्दा धेरै सहभागीहरु चर्का नारा लगाउँदै तिनकुने तर्फ अगाडि बढिरहेका थिए। उक्त र्याली तिनकुनेमा बनाइएको मञ्च तर्फ नलागेर बानेश्वर तर्फ अगाडी बढिरहेको थियो। राजावादीलाई लक्षित गरेर सरकारले निषेधित क्षेत्र बढाएको सुचना राजावादीलाई थियो तर कहाँसम्म निषेधित हो भन्नेमा उनिहरु अनबिज्ञ देखिन्थे। बाटोमा प्रहरीको कुनै उपस्थिति थिएन। र्याली अगाडी बढदै गएपछि छरिएर रहेका प्रहरीहरु एकाएक र्यालीलाई रोक्न आए। प्रहरीको संख्या त्यतिबेला सम्म निकै कम थियो तर प्रदर्शनकारीको संख्या ठूलो थियो। केहिबेर प्रहरी संगको धकेलाधकेल पछि राजावादी अगुवाहरू नै प्रहरी भन्दा अगाडी मानवसाङ्लो बनाएर आन्दोलनकारीलाई प्रहरी सँग झडप हुन बाट रोकिरहेका थिए। त्यतिबेला राजावादीहरु नै संयमित नभएको भए प्रहरीले रोक्न सक्ने सामर्थ्य राख्दैन थियो।
केहिबेरमा छरिएर रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरी उक्त क्षेत्रमा केन्द्रित भएपछि बिस्तारै प्रदर्शनकारीहरु तिनकुने चौरमा बनाइएको मञ्च तर्फ जाँदै थिए। कार्यक्रम स्थलबाट पनि सबैलाई चौरमा आउन माइक बाट आव्हान गरिरहेका थिए। जब प्रहरीको संख्या कम थियो त्यतिबेला बानेश्वर तर्फ अगाडि बढ्न राजावादीहरुले नै प्रदर्शनकारीहरु रोके तर तब प्रहरीको संख्या धेरै भयो र राजावादीहरु मञ्च तर्फ गए अनि प्रहरीले बल प्रयोग गर्न लाग्यो। प्रहरीले लाठीचार्ज मात्र गरेन अश्रुग्यास पनि प्रहार गर्न लाग्यो। त्यतिबेला पनि प्रदर्शनकारीलाई चौरमा आउन भन्दै माइक बाट आयोजकहरु चिच्याइरहेका थिए।
दुर्गा प्रसाईं आउदै गरेको खबर माइक बाट सुचना दिइरहेका थिए। बाटोमा छरिएर रहेकाहरु कार्यक्रम सुरु भएपछि बिस्तारै आउने आँकलन गरेर औपचारिक कार्यक्रम सुरु भयो। राजावादीको कार्यक्रममा पुरानो राष्ट्रियगान ‘श्रीमान गम्भीर नेपाली’ बजाउने गरेको भएतापनी तिनकुनेमा ‘सयौं थुंगा फुलका हामी’ राष्ट्रियगाना बजाइएको थियो।
राष्ट्रगान बज्न सुरु हुनेबित्तिकै घरको छतबाट आधादर्जन अश्रुग्यासको सेल मञ्च तर्फ हानियो। गोली चलेको जस्तो आवाज सुनिइरहेको थियो। मञ्च धुवाँले भरियो। मञ्चमा रहेकाहरूमा भागदौड मच्चिरहेको थियो। त्यतिबेला दलबल सहित दुर्गा प्रसाईं ३६४७ नम्बरको गाडिको पछाडी बसेर हात हल्लाउँदै कोटेश्वर तर्फबाट तिनकुने तर्फ आइरहेका थिए। गाडी अरुले नै हाँकिरहेका थिए। प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेपछी दुर्गा प्रसाईंको गाडी मञ्च तर्फ अगाडी बढन सकेन। त्यसपछि दुर्गा प्रसाईं रिसले मुर्मुरिदै ओर्लिएर आफैं गाडिको ड्राइभिङ सिटमा बसे र सबैलाई अगाडी बढन संकेत गर्दै गाडी कुदाउन लागे। गाडी सङ्गसङै प्रदर्शनकारीहरु पनि अगाडि कुदिरहेका थिए। प्रसाईंको गाडी प्रहरी अगाडि पुगेर रोकियो। प्रहरीले अगाडी नबढ्न चेतावनी दिइरहेका थिए। तर दुर्गाले उनिहरुको कुरा सुनेनन् । प्रहरीले केहिबेर गाडी रोक्ने प्रयास गरे । गाडिको सिसामा प्रहरीले लाठी प्रहार गरेपछि दुर्गा प्रसाईं झनै आबेगमा आएर गाडी अगाडी बढाए। प्रहरी हेरेको हेर्यै भयो। केही अगाडि बढेपछि दुर्गा प्रसाईं फर्किएर मञ्चमा आए।
त्यतिबेला सम्म प्रहरीको दमन सँगै प्रदर्शनकारीको आक्रोश पनि निकै बढिसकेको थियो। घरको छतबाट अश्रुग्यास आएको देखेपछि जुन-जुन घरबाट अश्रुग्यास आएको थियो त्यो घरमा प्रदर्शनकारीहरु ढुंगा हानिरहेका थिए। दुर्गा प्रसाईंले प्रहरीलाई अश्रुग्यास नहान्न आग्रह गरिरहेका थिए। प्रदर्शनकारीहरु सबैलाई मञ्च तर्फ आउन माइकबाट आग्रह गरिरहेका थिए। त्यतिबेला न त प्रहरीले अश्रुग्यास प्रहार गर्न छोड्यो, न त गोलीको आवाज आउन बन्द भयो न त प्रदर्शनकारी नै मञ्च तर्फ आए।
मञ्च तर्फ अश्रुग्यास आइरहेपछी त्यहाँ राजावादी अगुवाहरूमा फेरि भागदौड चल्यो। मञ्चमा नयाँ मान्छेहरु पुगे र माइकबाट प्रदर्शनलाई अराजक बनाउने गरि कहिले कान्तिपुर माथी आक्रमण गर्न निर्देशन दिन्थे भने कहिले अन्नपूर्ण मिडिया माथी आक्रमण गर्न निर्देशन दिइरहेका थिए। आन्दोलन त्यतिबेलासम्म प्रहरी र राजावादीको नियन्त्रण भन्दा बाहिर गइसकेको थियो।
एकाएक मञ्चको पछाडी तिर रहेको घरमा त्यतिबेला सम्म प्रहरीले छतमा बसेर अश्रुग्यास र गोली हानेको भन्दै ढुंगा हानिरहेका थिए। जब छत बाट केही मान्छे तल झरेको देखियो त्यसको केही मिनेटमै उक्त घरको पहिलो तला बाट धुवाँको मुस्लो देखिन लाग्यो। आगोलागेको घरमा मान्छे फसेको छ सहयोग गर्नुस भन्दै एक महिला माइक बाट चिच्याइरहेकि थिइन। प्रदर्शनकारीले अगाडि बढ्न नदिएपछी प्रहरी पनि उक्त घर नजिक पुग्न सकेन। दमकल र पानीको फोहोरा पनि त्यहाँ सम्म पुग्न सकेन। उक्त घरमा कसले आगो लगायो ? पत्रकार कसरी फसे ? सङ्गै रहेको रोयल रेस्टुरेन्ट भित्रबाट बाहिर कसले गोली प्रहार गर्यो ? उक्त विषय निकै नै गम्भीरताका साथ अनुसन्धान हुनुपर्ने विषय बनेको छ।
त्यतिबेला सम्म सडकमा टायर बल्न पनि सुरु गरिसकेको थियो। तिनकुने क्षेत्र घर जलेको धुवा, टायर बलेको धुँवा र अश्रुग्यासको धुवाँले ढाकेको थियो। अश्रुग्यास र गोलि पडकेको आवाज निरन्तर आइरहेको थियो। त्यतिबेला तिनकुने-कोटेश्वर क्षेत्र कुनै युद्ध मैदान भन्दा कम थिएन।
त्यतिबेला सम्म आन्दोलनकारीहरु कोहि सिनामंगल, कोहि जडिबुटी, कोहि बालकुमारी तर्फ तितरबितर भैसकेका थिए। सडकबाट बिस्तारै प्रदर्शनकारीहरु घर फिर्ता हुँदै थिए। त्यसैक्रममा सबिन महर्जन पनि बिस्तारै सडकमा हिडिरहेका थिए। एकाएक प्रहरीले अन्धाधुन्ध गोली चलायो। सबिन महर्जन सडकमा ढले। संभवत: उनको त्यहीं मृत्यु भयो। एकदमै पातलो मान्छेको उपस्थिति थियो। कुनै नाराबाजी वा ढुंगामुढा भएको थिएन। तर, प्रहरीले किन गोली चलायो ? भन्ने विषय गम्भीर बनेको छ।
त्यतिबेला सम्म जडिबुटीमा टायर बालेको धुवाँ अलिअलि आउँदै थियो। जब गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु भएको हल्ला फैलियो तब जडिबुटीका प्रदर्शनकारीहरुले जडिबुटी उत्पादन उद्योगमा तोडफोड तथा आगजनी गरे। अन्ततः प्रशासनले कर्फ्यु आदेश जारी गर्यो र नेपाली सेनाको बख्तरबन्द गाडिले गस्ती सुरु गरेपछि तब आन्दोलनकारी तितरबितर भए।
हाम्रो निष्कर्ष
हामीले गणतान्त्रिक ब्यबस्थापछि भएका गौर हत्याकाण्ड, राजबिराज हत्या काण्ड, टिकापुर हत्याकाण्ड पढेका र सुनेका थियौं। तर, यो सबै घटनालाई नजिक बाट भोगेको राज्य संयन्त्रको लागि तिनकुने घटना नौलो नहोला तर हाम्रो लागि निकै नै दर्दनाक घटना थियो। बारुद र बन्दुकको आडमा नेता बनेकाहरुले आफ्नो बिगतलाई बिर्सिएर हो वा आफ्नो छायाँले आफैंलाई तर्साएर हो तिनकुने घटनालाई नरसंहार भन्दै अन्यत्र मोड्न खोजेको जस्तो देखिन्छ।
राजावादी अगुवाहरुले आन्दोलन आफ्नो नियन्त्रणमा राख्न नसक्नु उनिहरुको कमजोरी पक्कै हो। तर, गृहमन्त्रालयको विवरण हेर्ने हो भने तिनकुने प्रदर्शनमा चार हजार प्रदर्शनकारी र चार हजार कै संख्यामा सुरक्षाकर्मी परिचालन भएको भनिएको छ। एक जना प्रदर्शनकारीलाई एक जना प्रहरीले नियन्त्रण गर्न नसक्नुको पछाडि राज्य प्रती धेरै प्रश्नचिह्न खडा भएको छ।
कुनै व्यवस्था, वाद र दल भन्दा टाढा बसेर आन्दोलनको समीक्षा गर्ने हो भने आन्दोलन अराजक बन्नुमा सरकार पक्ष सबैभन्दा धेरै जिम्मेवार देखिन्छ। राज्य नै आन्दोलनलाई अराजक बनाउन उद्दत छन् भन्ने धेरै आधारहरु देखिन्छ। आन्दोलनलाई अराजक बनाएर राजावादी आन्दोलनका अगुवाहरुलाई टिकापुर काण्डका रेशम चौधरी जस्तो बनाएर आन्दोलन कमजोर बनाउने परिकल्पना गणतन्त्र पक्षधरले गरेको हो भने गणतन्त्रको लागि सबैभन्दा महंगो हुनसक्छ।
राज्य पक्षले आफ्नो कमजोरीलाई निर्मल निवास तर्फ एउटा चोर औंला देखाउँदै गर्दा बाँकी ४ वटा औंलाले आफैंलाई देखाइरहेको बिर्सिनु हुँदैन। राजा ज्ञानेन्द्रलाई गलत देखाएर गणतन्त्र टिकाउने कल्पना गर्नु त्यो प्रत्युत्पादक हुन्छ। तथ्य र प्रमाण बिना राजा ज्ञानेन्द्रलाई योजनाकार भनेर कसैले भनिदियो भन्दैमा दलका सिमित नेता कार्यकर्ताले पत्याउलान तर नेपाली जनताले अब पत्याउने देखिँदैन्।
त्यसको निमित्त तत्काल उच्चस्तरीय गैह्रराजनितिक छानबिन आयोग गठन गरेर सत्यतथ्य छानबिनगरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सबैमा हाम्रो अनुरोध छ। पत्रकारको हत्या र संचार उद्योग माथिको आक्रमण प्रती हामी खेद ब्यक्त गर्दछौ।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया