काठमाडौं । राजस्व छलीको मुद्दा खेपिरहेको चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीको नेपाली आधिकारिक विक्रेता ‘साइमेक्स इन्क’ ले आयात गरेका गाडीमा समस्या थपिँदै गएको छ। यसअघि नै राजस्व न्यायाधिकरण काठमाडौंले बीवाईडी गाडी आयात गर्दा प्रति गाडी २ लाख रुपैयाँ कर छली गरेको ठहर गरिसकेको छ।
न्यायाधिकरणको हालै सार्वजनिक पूर्ण फैसलाअनुसार साइमेक्सले कर र जरिवाना गरी कुल १ करोड १२ लाख रुपैयाँ तिर्नुपर्ने उल्लेख छ। साइमेक्सले वायर हाउसका २० वटा गाडीको कर छलि गरेर ४० लाख राजस्व नबुझाएको देखिएको छ। जसलाई जरिवानासहित तिर्नुपर्ने न्यायाधिकरणको आदेशमा भनिएको छ।
तर, साइमेक्सको लुट यहीँसम्म मात्र सीमित छैन। कम्पनीले नेपाली उपभोक्तालाई खुला रूपमा ठगी गर्दै आएको खुलेको छ। न्यायाधिकरणले अधिकतम खुद्रा मूल्य ५० लाख रुपैयाँ तोकेको गाडीलाई ५९ लाख रुपैयाँमा बिक्री गर्दै कालोबजारी गरेको पाइएकाे छ। साधारण उपभोक्ताबाट अतिरिक्त ९ लाख रुपैयाँ असुली गर्दै लुट मच्चाइरहेको छ । यो सरासर आम नेपाली जनतालाई पासो थापेर बीवाईडीले लुटेको देखिन्छन्।
भन्सार दर घटाउन नेता र कर्मचारीहरूलाई घुस?
बीवाइडीले नेपालमा भन्सार दर घटाउन कांग्रेस, एमाले, माओवादीका केही नेतासहित अर्थ मन्त्रालयका कर्मचारीहरूलाई नै गाडी उपहार दिएको समेत आरोप लागेको छ। यसबाहेक, आयकर छली गरेको आरोपसमेत कम्पनीमाथि लागेकाे छ।
स्पेयर टायरसमेत नदिएर उपभोक्तालाई ठगी
बीवाईडीका इभी गाडी खरिद गर्ने उपभोक्ताहरूले स्पेयर टायरसमेत नपाएको गुनासो गरिरहेका छन्। नेपालमा उपलब्ध अरू सबै गाडीहरूमा स्पेयर टायर दिइने भए पनि बीवाइडीले ग्राहकहरूलाई टायर नदिई सिधै ठगिरहेको उपभोक्ताहरूको आरोप छ।
गुणस्तरहीन गाडी, बारम्बार बिग्रिने समस्या
बजारमा आएका बीवाइडीका गाडीहरूमा धेरै प्राविधिक समस्या देखिन थालेका छन्। उपभोक्ताहरूले गाडी खरिद गरेको केही समयमै निम्न समस्या आएको बताएका छन्—
- ब्याट्रीको कमजोर प्रदर्शन
- ब्रेक फेल हुने समस्या
- चार्जिङ स्टेशनहरूको अभाव
- चार्जिङ पोर्टमा खराबी
- प्राविधिक समस्याका कारण गाडी चल्नै नसक्ने अवस्था
यी समस्याहरू दोहोरिएपछि प्रयोगकर्ताहरूले बीवाइडी गाडीको गुणस्तरमाथी प्रश्न उठाउन थालेका छन्।
सुरक्षामासमेत गम्भीर समस्या, बढ्दै आगलागीका घटनाहरू
बीवाइडी गाडीहरू सुरक्षा दृष्टिकोणले पनि जोखिमपूर्ण रहेको गुनासो उपभोक्ताहरूले गरेका छन्। केही घटनाहरूमा यी गाडीहरू आगलागीको जोखिममा परेको खबरहरू बाहिर आएका छन्।
केही महिना अघि काठमाडौंको सीतापाइला क्षेत्रमा पार्किङ गरिएको बीवाइडी गाडीमा अचानक आगलागी भएको घटना सार्वजनिक भएको थियो। यस्तो घटनाले बीवाइडी गाडी यात्रीहरूको जीवनलाई नै जोखिममा पार्ने विज्ञहरूको ठहर छ।
उपभोक्ता ठगींदा सरकारी निकाय मौन
बीवाइडी गाडी खरिद गरेका धेरै ग्राहकहरूले आफूहरू ठगिएको महसुस गरिरहेका छन्। तर पनि, उपभोक्ता हितका लागि खुलेका सरकारी निकाय, एनजिओ र आइएनजिओहरू मौन बसेका छन्।
यसबीच, पीडित उपभोक्ताहरूले साइमेक्स तथा बीवाइडीविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले कर छली, कालोबजारी र उपभोक्ता ठगीमा संलग्न कम्पनीलाई कारबाही गर्नुपर्ने बताइरहेका छन्।
यसबारे थप जानकारी लिन साइमेक्स इन्कका सीईओ साहिल श्रेष्ठलाई पटक–पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएनन्।
प्रकाशित मिति: १७ माघ २०८१, बिहिबार
प्रतिक्रिया