काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा भएको सुनुवाइपछि बिहीबार नै अन्तिम फैसला आउने सम्भावना रहेको छ।
उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पाँच वर्षअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यौपानेले उक्त निर्णय बदर गरी नेपाल र भट्टराईविरुद्ध मुद्दा दायर गर्न आदेश दिन माग गरेका छन्।
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने नेपाल र भट्टराईले नीतिगत निर्णयमात्रै गरेका कारण उनीहरूमाथि मुद्दा नचलाउनुपर्ने निष्कर्ष निकालेको छ।
अब सर्वोच्चको निर्णयले ललिता निवास प्रकरणमा नेपाल र भट्टराईको संलग्नताबारे नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार
प्रतिक्रिया