काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनी राजमार्गको चार किलोमिटर सडक निर्माण नहुँदा स्थानीय जनताले भोग्नुपरेको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सरकारलाई सडक निर्माणको काम तत्काल अघि बढाउन आग्रह गरे। उनले कटाक्ष गर्दै भने, “निर्वाचनलाई लक्ष्य गरेर २०८४ भन्दै हुनुहुन्छ, तर जनताले त अहिले नै चौरासी गर्न लागिसके।”
सांसद बाँस्कोटाले सडक अभावले स्थानीय जनताले ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै सरकारको तीव्र आलोचना गरे। “जसलाई जहाँ पीडा छ, त्यहींबाट आवाज उठ्छ। मन्त्रीज्यूलाई चित्त दुख्न सक्छ, तर जनताको चित्त त धेरै पहिल्यै दुखिसक्यो,” उनले थपे।
उनका अनुसार अरनी राजमार्ग चीन जोड्ने एक मात्र मुख्य मार्ग हो। केरुङ नाका नखुलेसम्म यसको महत्त्व अझै बढ्ने भएकाले निर्माण कार्यलाई प्राथमिकता दिनु जरुरी छ। उनले प्रश्न गरे, “तातोपानी भन्सारबाट वार्षिक २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राख्ने सरकार सडक निर्माणमा किन चासो दिँदैन? बाटो बन्द हुँदा व्यापार ठप्प छ। के सडक निर्माण सरकारको दायित्व होइन?”
बाँस्कोटाले सरकारको उदासीनताले चार वर्ष बितिसक्दा पनि जम्मा चार किलोमिटर सडक बनाउन नसकेको भन्दै आक्रोश पोखे। “मेरो घोक्रो सुकिसक्यो, नसा फुलिसक्यो। तर सरकारले अहिलेसम्म समीक्षा किन गरेन?” उनले प्रश्न गर्दै सरकारको कमजोरी औँल्याए।
उनले सरकारलाई चेतावनी दिँदै भने, “यदि सडक निर्माणलाई प्राथमिकता दिइएन भने जनताले अझै ठूलो मूल्य चुकाउनुपर्नेछ। तत्काल समाधान खोज्न सरकार गम्भीर बन्नुपर्छ।”
प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया