काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा ठूलै अस्थिरता आउला भन्ने गरी त्रास फैलाइएको भन्दै त्यस्तो कुनै असामान्य अवस्था नआउने दाबी गरेका छन्।
आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्ने क्रममा उनले केही समूहले सानो घटनालाई अनावश्यक रूपमा ठूलो बनाउने काम गरिरहेको टिप्पणी गरे।
भोलि (चैत १५) समाजवादी मोर्चामा आबद्ध दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको समर्थनमा काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्। त्यसैगरी, राजतन्त्र पक्षधर समूहले पनि आ-आफ्नो माग राख्दै छुट्टै प्रदर्शन गर्ने तयारी गरिरहेको छ।
तर, प्रधानमन्त्री ओलीले नेपालमा दैनिक रूपमा १०–१५ हजार मानिस सहभागी हुने जुलुसहरू भइरहेकाले भोलिको प्रदर्शनलाई अनावश्यक रूपमा उछाल्न नहुने तर्क गरे।
‘नेपालमा दिनहुँ १०–१५ हजारका जुलुस निस्कन्छन्। त्यसलाई लिएर तिललाई पहाड बनाउनु आवश्यक छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा जुलुस भृकुटीमण्डपमा निस्किएर सभा गर्छ, अर्को कोटेश्वरमा हुन्छ। हुने त्यति नै हो।’
प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार
प्रतिक्रिया