काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अब छाडा छोड्न नसकिने बताएका छन् । आज (आइतबार) सिन्धुलीको दुधौलीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको उदारतालाई कमजोरी ठानेर ज्ञानेन्द्रले मुर्खता गरिरहेको उनले बताए । ‘उनलाई छाडा छोड्न सकिँदैन । ज्ञानेन्द्र शाहले जनताको उदारताले भोग पाएको छन् । अझै मुर्खता गर्ने हो भने उनले भोग्ने दिननै सिद्दिन्छ,’– उनले भने ।
पूर्वराजा ज्ञानेन्द्रकै कारण गत शुक्रबार तीनकुनेमा हिंसात्मक घटना भएको प्रचण्डको दाबी छ । उनले ज्ञानेन्द्रकै कारण उक्त घटनामा दुई जना होनाहार युवाको हत्या भएको दाबी गरे । आफ्नै घरमा भयानक हत्याकाण्डको मञ्चण गर्ने ज्ञानेन्द्रले जनताको छोराछोरीहरु मार्नु सामान्य सोच्ने गरेको उनले बताए ।
‘दुई जना होनाहार युवाको हत्या भयो, त्यसको लागि जिम्मेवार ज्ञानेन्द्र शाह नै हो । आफ्नै घरमा भयानक हत्याकाण्ड मञ्चण गर्न सक्नेहरुले जनताका छोराछोरी मार्ने कुरालाई त उनीहरुले केहीजस्तै मान्दैनन् । अहिले सर्वत्र आवाज उठेको छ, ज्ञानेन्द्र शाहलाई अब छुट दिन हुँदैन भन्ने जनस्तरबाटै आवाज उठेको छ । हामी सबै राजनीतिक दलहरुले भनेका छौं– उनलाई छाडा छोड्न सकिँदैन । जनता र पार्टीहरुले देखाएको उदारताको नाजायज फाइदा उठाएर फेरि आतङ्क, फेरि गुण्डागर्दी, फेरि हत्या गर्छन् भने जनताले उनलाई छुट दिँदैनन्,’– उनले भने ।
प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार
प्रतिक्रिया