काठमाडौं – चर्चित कलाकार दीपकराज गिरीले वर्तमान शासन प्रणालीप्रति असन्तुष्टि जनाउँदै, सत्ताको कार्यशैलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति जनताको आकर्षण बढ्दै गएको बताएका छन्।
राजावादी प्रदर्शनको चर्चा गर्दै, गिरीले वर्तमान सरकारको असक्षमता तथा अव्यवस्थित शासन प्रणालीकै कारण पूर्वराजा प्रति जनताको चासो बढेको टिप्पणी गरे।
सामाजिक सञ्जालमा लेख्दै गिरीले भनेका छन्, “यहाँ शासन शैली राम्रो नभएको कुरा उठायो भने तत्काल उसलाई गणतन्त्र विरोधी या राजावादीको संज्ञा दिन्छन्। तपाईंहरूको अस्वस्थ राजनीतिक प्रतिस्पर्धाकै कारण जनतामा निराशा छाउँदै गएको छ। शासन शैली सुधार्नुभन्दा जनतालाई नै ट्याग भिराएर दबाउने प्रवृत्तिले पुराना राजाको माग बढेको हो।”
उनले थप प्रष्ट्याउँदै भनेका छन्, “म वर्तमान शासन शैलीप्रति असन्तुष्टि जनाउँछु, तर त्यसकै आधारमा मलाई राजावादी भनिन्छ। त्यसैले, सर्वप्रथम म राजावादीको तर्फबाट यहाँहरूलाई नमस्कार!”
गिरीको यो भनाइ पछिल्लो समय गणतन्त्रप्रति असन्तुष्टि जनाउँदै राजसंस्थाको पुनर्स्थापनाका लागि उठेका आवाजहरूसँग सम्बन्धित देखिन्छ। उनका विचारले सत्तासीन नेताहरूको शासन शैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार
प्रतिक्रिया