काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा कटौती गर्ने र राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। हिंसात्मक आन्दोलन उक्साएको आरोपमा सरकारले यो कठोर कदम चाल्न लागेको हो।
शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले यसबारे गम्भीर छानबिन थालेको छ। गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार उक्त आन्दोलन पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएको आशंका गरिएको छ। ‘उनको संलग्नताबारे प्रमाणित भएमा राहदानी रद्द गरी विदेश जान नदिने निर्णय हुनेछ,’ एक उच्च अधिकारीले भने।
शुक्रबारको आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो। हिंसात्मक गतिविधिमा संलग्नहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्ने प्रस्ताव मन्त्रीहरूले अघि सारेका छन्। त्यस्तै, पूर्वराजालाई प्राप्त सेवा-सुविधा रोक्ने विषयमा पनि छलफल भएको छ।
शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधिबारे विस्तृत समीक्षा गरिएको थियो। शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन गर्न थालेको छ। व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव तथा संगठित अपराधसम्बन्धी अनुसन्धान अघि बढाउने तयारी गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण प्रदर्शनप्रति सरकारको कुनै आपत्ति नभएको तर तोडफोड र ज्यान जाने गरी हिंसा भड्काउने कार्यलाई सह्य गर्न नसकिने बताएका छन्। उनले यसबारे कडा अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार
प्रतिक्रिया