काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले अघोषित नजरबन्दमा राखेको छ।
शुक्रबार रातिदेखि नै पूर्वराजा शाहको निवास वरपर सुरक्षाकर्मीको कडा निगरानी बढाइएको छ। उनलाई बाहिर जानबाट रोक लगाइएको छ भने उनीसँग भेटघाट गर्न आउने व्यक्तिहरूलाई समेत उच्च निगरानीमा राखिएको छ। पूर्वराजाको गतिविधिमा निगरानी बढाउन शुक्रबारदेखि विशेष सुरक्षा रणनीति लागू गरिएको छ।
यसैबीच, सरकारले पूर्वराजाका सुरक्षाका लागि खटाइएको सुरक्षाकर्मीको संख्या घटाएको छ। सरकारको निर्देशनअनुसार शुक्रबार राति ११:३० बजे सशस्त्र प्रहरीले पूर्वराजाका सुरक्षामा रहेका २५ सुरक्षाकर्मीमध्ये १० जनालाई फिर्ता बोलाएर डिएसपी प्रमोदप्रकाश पाठकको नेतृत्वमा मात्र १५ सुरक्षाकर्मीलाई खटाइएको छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार, यो सुरक्षाकर्मीको परिवर्तन सरकारको नयाँ सुरक्षा रणनीतिअन्तर्गत गरिएको हो। “फौजको व्यवस्थापनको क्रममा संख्यामा हेरफेर गरिएको हो। आवश्यक परेमा केही दिनमा पुनः समीक्षा गरिनेछ,” एक उच्च सुरक्षाधिकारीले बताए।
पूर्वराजालाई अघोषित नजरबन्दमा राख्ने सरकारको निर्णयले विभिन्न तहबाट प्रतिक्रिया आउन थालेका छन्। समर्थकहरू यो कदमलाई अवैधानिक भन्दै विरोध गरिरहेका छन् भने सरकार समर्थकहरू यसलाई आवश्यक सुरक्षात्मक उपायका रूपमा व्याख्या गरिरहेका छन्।
प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार
प्रतिक्रिया