तिमी जति गर्न सक्छौ
त्यति म पनि गर्न सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरू
मेरा पनि अनुभूति
तर इतिहासले आज
कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
तिमी त मभन्दा कोसौँ अघि गइसकेछौ
तिमी र म एउटै होइनौँ
एक–अर्काका पूरक मात्र हौँ
त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागिदार हुन सक्दैनौँ
म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु
म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु
तिमीलाई त यसो कहिल्यै भएन,
तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ
तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन
तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्नुपर्दैन
हो, म तिमीबिना आमा बन्न सक्तिनँ
तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु
तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
त्यो मेरो, नितान्त मेरो अनुभूति हो
तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?
तिमीलाई स्वास्नीमान्छेले कलङ्कको टीका लगाइदियो ?
तिमीलाई स्वास्नीमान्छेले बेच्यो ?
तिमी निरुत्तर छौ यस प्रश्नको अघि,
आजको सत्तारूढ तिमी
शताब्दी–शताब्दीअघि
झगडालु, ईर्ष्यालु वनमानुष तिमीलाई
माया र सह–अस्तित्वको अँगालोमा बाँधी
आफ्नो ओडारको छानुमुनि भित्र्याएकी थिएँ
जसरी आज तिमी
दाइजोको लावा–लस्करसँग घुम्टोभित्र लुकाई
पशुलाई जस्तै रुवाउँदै भित्र्याउने गर्छौ ।
त्यसैले तिमी यति विमुख न हौ
यति निर्दयी नबन,
यति बैगुनी नहौ,
तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरू साटासाट गरौँ
हामी मानसिकताले एकाकार हौँ
हामी एकअर्काबिना बाँच्न सक्ने प्राणी होइनौँ
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याऊ
त्यहाँ, जहाँ तिमीलाई मैले
सभ्यताको आदिकालमा पुर्याइसकेकी थिएँ ।
(बैँसालु वर्तमान कविता सङ्ग्रहबाट ।)
प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार
प्रतिक्रिया