नयाँ दिल्ली। भारतमा दाइजो विवादसँग जोडिएको एक गम्भीर घटनामा अभिनेत्री तथा मोडल ट्विशा शर्मा को मृत्यु प्रकरणमा उनकी सासूलाई पक्राउ गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अनुसन्धानका क्रममा सासू गिरिबाला सिंहलाई पक्राउ गरेको हो।

advertisement

३३ वर्षीया ट्विशा शर्मा विवाह भएको करिब पाँच महिनामै १२ मेमा मध्य प्रदेशको भोपालस्थित ससुराली घरमा मृत अवस्थामा फेला परेकी थिइन्।

यस घटनापछि उनका परिवारले दाइजोको मागलाई लिएर मानसिक तथा शारीरिक यातना दिइएको र त्यसैका कारण उनको हत्या गरिएको आरोप लगाएका छन्।

परिवारका अनुसार ट्विशाका श्रीमान् समार्थ सिंह र सासू गिरिबाला सिंह दुवै मिलेर दाइजोका लागि निरन्तर दबाब र यातना दिने गरेका थिए।

उनीहरूले गर्भावस्थामा समेत दबाब दिएर गर्भपतन गर्न बाध्य पारेको दाबी गरिएको छ।

तर सिंह परिवारले सबै आरोप अस्वीकार गर्दै ट्विशालाई मानसिक स्वास्थ्य समस्या रहेको र आत्महत्याबाट मृत्यु भएको दाबी गरेको छ।

गर्भपतनको निर्णय पनि उनको आफ्नै इच्छा अनुसार भएको उनीहरूको भनाइ छ।

अनुसन्धानका क्रममा सीबीआईले लामो सोधपुछपछि गिरिबाला सिंहलाई पक्राउ गरेको हो।

यसअघि मध्य प्रदेश उच्च अदालतले उनको अग्रिम जमानत खारेज गर्दै अनुसन्धानमा गम्भीर त्रुटि भएको उल्लेख गरेको थियो।

घटनासँग सम्बन्धित अनुसन्धान हाल सीबीआईको जिम्मामा रहेको छ। प्रहरीले यसलाई दाइजो मृत्युको मुद्दा अन्तर्गत अघि बढाएको छ।

भारतमा दाइजो प्रथा कानुनी रूपमा प्रतिबन्धित भए पनि यस्ता हिंसात्मक घटनाहरू बारम्बार सार्वजनिक हुने गरेका छन्, जसले महिला सुरक्षामाथि गम्भीर प्रश्न उठाइरहेको छ।

ट्विशा शर्माको मृत्युले पुनः दाइजो सम्बन्धी सामाजिक समस्यालाई व्यापक बहसमा ल्याएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com