काठमाडौं । अमेरिकाले सैन्य दबाब घटाउँदै इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाए सात दिनभित्र होर्मुज जलडमरूमध्य खुला गर्न सकिने संकेत इरानले दिएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा इरान र अमेरिकाबीच वार्ताको प्रयास भइरहेका बेला एक वरिष्ठ इरानी अधिकारीले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन् । उनका अनुसार इरानले मध्यस्थकर्तामार्फत उक्त प्रस्ताव अमेरिकासमक्ष यसअघि नै पुर्‍याइसकेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिकी दूत स्टिभ विटकफसँगको संवादमा होर्मुज खोल्नेसहित तेहरानका सर्तहरू प्रस्तुत गरेका छन् । इरानले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने र सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने सर्त अघि सारेको छ ।

होर्मुजको विषयलाई लिएर कतारले पाकिस्तानसँगको सहकार्यमा इरान र अमेरिकाबीच वार्ताको वातावरण बनाउन पहल गरिरहेको जनाइएको छ । साउदी अरब, इजिप्ट, पाकिस्तान र टर्कीले पनि कूटनीतिक समाधानको समर्थन गरेका छन् ।

न्युयोर्कमा अराघचीले कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटवार्ता गरेका छन् । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकका नेताहरूसँग छलफल गर्दै इरानसँग सम्झौतातर्फ वार्ता अघि बढ्न सक्ने संकेत दिएका छन् ।

तर वार्ताको प्रयाससँगै दुवै पक्षबाट कडा अभिव्यक्ति पनि आइरहेका छन् । इरानी संसद्का डेपुटी सभामुख अली निकजादले होर्मुजको विषय वार्ताको प्रमुख मुद्दा बनेको र यसमा इरान पछि नहट्ने बताएका छन् ।

यससँगै होर्मुज जलडमरूमध्य खोल्ने विषय इरान–अमेरिका वार्ताको प्रमुख सौदाबाजीको मुद्दा बनेको देखिएको छ । यद्यपि, सात दिनभित्र जलडमरूमध्य खुल्ने विषय अमेरिकाले इरानका प्रस्तावित सर्त स्वीकार गर्ने अवस्थासँग जोडिएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com