काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि राजनीतिक दल तथा विषयविज्ञहरूसँग आवश्यक परामर्श नगरिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा साझा धारणा बनाउन सरकारले प्रमुख प्रतिपक्षसहित अन्य राजनीतिक दलसँग छलफल नगरेको बताएका छन्।

शर्माका अनुसार मित्रराष्ट्रको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय सरोकारका विषयमा राजनीतिक दल र विज्ञहरूसँग परामर्श गर्ने लोकतान्त्रिक अभ्यास रहँदै आएको छ। तर, सरकारले यसपटक त्यस्तो प्रक्रिया अवलम्बन नगरेको कांग्रेसको भनाइ छ।

विज्ञप्तिमा कांग्रेसले सरकारबाट औपचारिक सुझाव माग नभएकाले आफूले पनि सुझाव प्रस्तुत गर्न आवश्यक नठानेको उल्लेख गरेको छ।

कांग्रेसले भने भारत भ्रमणसँग सम्बन्धित विभिन्न विषयमा गत बुधबार विषयविज्ञहरूसहित आन्तरिक छलफल गरेको जनाएको छ। जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका समस्या तथा भारतमा कार्यरत नेपाली श्रमिकका सवाललाई छलफलको विषय बनाइएको थियो।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय अडान प्रभावकारी बनाउन राजनीतिक दलबीच व्यापक परामर्श र साझा समझदारी आवश्यक रहेको कांग्रेसको धारणा छ।

यद्यपि, सरकारले परामर्श नगरेको विषयलाई भारत भ्रमणको सफलतासँग जोडेर नहेर्ने स्पष्ट पार्दै कांग्रेसले राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने प्रयासमा आफ्नो समर्थन रहने जनाएको छ।

भ्रमणलाई तत्कालीन प्रचार वा क्षणिक लोकप्रियतामा सीमित नराखी विगतमा भएका सहमति कार्यान्वयन गर्ने, विद्यमान समस्याको समाधान खोज्ने र दीर्घकालीन सहकार्यको आधार तयार गर्ने अवसरका रूपमा उपयोग गर्न पनि कांग्रेसले सुझाव दिएको छ।

कांग्रेसका अनुसार भ्रमणको वास्तविक सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाभन्दा नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस उपलब्धिबाट मापन हुनुपर्छ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com