काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारी निर्णयविरुद्ध दायर रिटमा बहस गर्दै कानुन व्यवसायीहरूले सरकारको कदम कानुनविपरीत रहेको जिकिर गरेका छन्।

दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेशको मागसहित बुधबार सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा उनका पक्षका कानुन व्यवसायीहरूले निश्चित कार्यकाल बाँकी रहँदै कानुनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएको भन्दै सरकारी निर्णय बदर गर्न माग गरेका हुन्।

बहसका क्रममा अधिवक्ता टीकाबहादुर कुँवरले कार्कीको कार्यकाल १८ महिना बाँकी रहँदै नियोजित रूपमा पदबाट हटाइएको दाबी गरे। प्रहरी ऐनको व्यवस्था पालना नगरी उनको सहमतिबिनै अर्को जिम्मेवारीमा पठाइएको उनको तर्क थियो।

उनले २०८२ मङ्सिर २२ गते हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतले गरेको फैसलालाई नजिरका रूपमा प्रस्तुत गर्दै निश्चित कार्यकाल तोकिएको पदमा रहेका व्यक्तिलाई कानुनी आधार र प्रक्रिया पूरा नगरी हटाउन नमिल्ने बताए।

कानुनले तोकेको प्रक्रियाबाहिर गएर सरकारले आफूखुसी पद सिर्जना गरी पदाधिकारीलाई हटाउन नसक्ने उनको जिकिर थियो। प्रहरी ऐनको दफा १० अनुसार मात्रै कार्कीलाई पदबाट हटाउन सकिने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्को निर्णयमा ‘खटाउने’ भनिए पनि व्यवहारमा पदमुक्त गरिएको तर्क गरे।

अधिवक्ता माधवकुमार बस्नेतले पनि सरकारले कार्कीलाई अर्को जिम्मेवारीमा खटाउने निर्णय गरे पनि उनको साविकको पद कायम रहने भएकाले उक्त निर्णय कानुनी रूपमा त्रुटिपूर्ण रहेको बताए। नयाँ पद सिर्जना गरेर आईजीपीलाई अर्को जिम्मेवारीमा पठाउने सरकारी निर्णय प्रथम दृष्टिमै बदर हुनुपर्ने उनको माग थियो।

वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले प्रहरी महानिरीक्षकको पद सरकारको इच्छाअनुसार जहाँसुकै खटाउन मिल्ने सामान्य पद नभएको बताए। कानुनले नै निश्चित कार्यकाल तोकेको पदबाट व्यक्तिलाई हटाउन स्पष्ट कानुनी आधार आवश्यक पर्ने उनको भनाइ थियो।

‘सरकारले हटाएको होइन, खटाएको भनेको छ। त्यसो भए नेपालको कानुनले दुई जना आईजीपी हुने व्यवस्था गरेको छ ?’ उनले प्रश्न गरे।

उनले ‘सुरेश यादव विरुद्ध नेपाल सरकार’ मुद्दामा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले प्रतिपादन गरेको नजिरसमेत उल्लेख गरे। उक्त नजिरअनुसार निश्चित पदावधि भएको सार्वजनिक पदबाट अवधि पूरा नहुँदै हटाउनुपरे स्पष्ट, वस्तुनिष्ठ र उचित कानुनी आधार तथा कारण खुलाउनुपर्ने उनको तर्क थियो।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पनि संसद्ले बनाएको कानुनअनुसार नियुक्त हुने आईजीपीलाई हटाएर राजनीतिक प्रकृतिको नियुक्ति हुने पदमा पठाउनु गलत भएको बताए। यसअघि अच्युतकृष्ण खरेलको मुद्दामा सर्वोच्च अदालतले यस्तै विषयमा व्याख्या गरिसकेको उनले स्मरण गराए।

सरकारले कुनै गल्ती वा खराब आचरणबिना पदाधिकारीलाई स्वेच्छाचारी रूपमा हटाउन नमिल्ने उल्लेख गर्दै उनले खराब आचरण वा कार्यक्षमतासम्बन्धी समस्या भए स्पष्टीकरणको अवसर दिएर मात्रै कानुनी प्रक्रिया अघि बढाउन सकिने बताए। तर, कार्कीको हकमा त्यस्तो प्रक्रिया पूरा नगरिएको उनको जिकिर थियो।

त्यस्तै, वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेलले कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा खटाउने निर्णय कुन कानुन र कुन दफामा आधारित छ भन्ने स्पष्ट नभएकाले सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरे।

कार्की पक्षका कानुन व्यवसायीहरूले सरकारको निर्णयले कानुनी शासन र निश्चित पदावधिको सुनिश्चिततामाथि प्रश्न उठाएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न इजलाससमक्ष माग गरेका छन्।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com