काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
शाहीले घटनाले आफूहरू सबैलाई स्तब्ध बनाएको भन्दै यस्ता जघन्य अपराधमा दोषीलाई कठोर सजाय हुने गरी आवश्यक कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था निर्माणको प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेका हुन्।
‘तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ।यस्ता जघन्य अपराधमा दोषीलाई कडा सजाय हुने गरी आवश्यक कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था निर्माणको प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई हार्दिक अपिल गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखे।
उनले बालबालिकामाथि हुने यस्ता अपराध नियन्त्रण गर्न कानुनी व्यवस्था थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। कानुन निर्माण तथा संशोधनको प्रक्रियामा आफ्नो पार्टीको पूर्ण साथ र समर्थन रहनेसमेत उनले बताएका छन्।
‘अब कुनै बालिकाले यस्तो पीडा भोग्न नपरोस्,’ शाहीले भनेका छन्, ‘दोषीलाई कठोर सजाय र पीडितलाई न्याय सुनिश्चित गरौँ।’
उनले बालिकामाथि हुने हिंसा तथा जघन्य अपराध रोक्न राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया