काठमाडौं । दिवंगत विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’को योगदानको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ।

गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ राख्ने प्रस्ताव तयार पारेको हो। प्रस्ताव चाँडै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।

पुर्जाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गर्ने ऐतिहासिक ‘प्रोजेक्ट पुसिबल’ अभियानको सुरुआत अन्नपूर्ण हिमालबाट गरेका थिए। यही योगदानको स्मरण गर्दै उनको नाम अन्नपूर्णसँग जोड्न लागिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले पुर्जाको स्मृतिमा सालिक र संग्रहालय निर्माण गर्ने योजना समेत अघि बढाएको छ। परिवारबाट जग्गा उपलब्ध भए सोही स्थानमा तथा अन्यथा रुप्से झरना वा अन्नपूर्ण आधार शिविर क्षेत्रमा संग्रहालय निर्माण गर्ने तयारी छ।

यसैगरी, फ्रान्सेली आरोही मौरिस हर्जोगको नाममा रहेको ‘मौरिस हर्जोग ट्रेल’ मा पुर्जाको नामसमेत समावेश गर्ने विषयमा हर्जोग परिवारसँग छलफल अघि बढाउने गाउँपालिकाको तयारी छ।

गाउँपालिकाले देशको नाम अन्तर्राष्ट्रियस्तरमा उचाइमा पुर्‍याउने आरोहीहरूको योगदानअनुसार राज्यबाट उचित सम्मान हुन नसकेको भन्दै असन्तुष्टिसमेत जनाएको छ।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com