काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीभित्र फरक मत राख्नेहरूलाई दबाउने कार्य भइरहेको आरोप लगाउँदै निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गरिएको बताएका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट हटाउँदै अनुशासन समिति प्रमुखमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए।

advertisement

अध्यक्ष लिङ्देनको उक्त निर्णय पार्टीको विधानविपरीत भएको भन्दै पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी, धवलशम्शेर राणा लगायतको समूह आइतबार निर्वाचन आयोग पुगेको हो।

आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, “हामीले राप्रपामा परिवर्तन ल्याएर नयाँ पुस्तालाई अगाडि बढाएका थियौँ। लिङ्देनजीलाई महाधिवेशनमा मैले नै काँधमा बोकेर ल्याएको हुँ। तर त्यसको बदलामा पटक–पटक मलाई कारबाही गरियो।”

राणाले आफ्नो स्वास्थ्य उपचारका लागि मुम्बई गएका बेला संगठन विभाग प्रमुखको जिम्मेवारीबाट आफूलाई हटाइएको गुनासो गरे।

उनले पार्टीभित्र असहमतिहरू समाधानका लागि प्रयास नगरी अध्यक्ष लिङ्देनले एकल निर्णयमार्फत अघि बढेकाले निर्वाचन आयोगमा जान बाध्य भएको बताए। “हामीले पार्टी नफुटोस् भन्ने प्रयास गरिरहेका छौँ। तर आन्तरिक विषयहरू छलफलबाट टुंग्याउने भन्ने कुरामा अध्यक्ष गम्भीर देखिएनन्,” राणाको भनाइ थियो।

उनले आयोगमा दिएको उजुरीमा नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्षमा पुनर्बहाली गर्नुपर्ने माग राखिएको जानकारी समेत दिए।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com