काठमाडौं । नेपाली कांग्रेसका पाँचजना वरिष्ठ नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश संविधानको मूल मर्मविपरीत हुने भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्व महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति पद जस्तो गरिमामय पद सम्हालेकी व्यक्तिले फेरि दलगत राजनीतिमा फर्कनु अनुचित हुने बताएका हुन्।
भेटमा सहभागी गोपालमान श्रेष्ठका अनुसार, उनीहरूले देउवालाई पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता गणतन्त्र र संविधानको अपमान हुने भन्दै सचेत गराएका थिए। श्रेष्ठले भने, “हामीले सभापतिज्यूलाई स्पष्ट रूपमा भन्यौं—उहाँ राजनीतिमा फर्किएमा यो गणतन्त्रको खिल्ली उडाउने काम हुन्छ। त्यो संविधानको मर्म विपरीत हो।”
श्रेष्ठका अनुसार, पूर्वराष्ट्रपतिजस्तो सर्वोच्च संवैधानिक पद सम्हालेको व्यक्तिले फेरि सत्ताको लोभमा राजनीति गर्न खोज्नु नै राजनीतिक बेइमानी हो। “राष्ट्रपतिभन्दा माथिल्लो पद केही छैन। त्यसपछि फेरि राजनीतिमा फर्कने कुरा अस्वीकार्य हो,” उनले भने।
जवाफमा सभापति देउवाले यस विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराइसकेको प्रतिक्रिया दिएका थिए। देउवाले पनि पूर्वराष्ट्रपति पदमा बसेको व्यक्तिले सक्रिय राजनीतिमा फर्किनु ठीक नहुने व्यक्तिगत धारणा रहेको जानकारी दिएका थिए।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया