काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र आफूले सजिलो विकल्प त्यागेर चुनौतीपूर्ण बाटो रोजेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनीतिक यात्रामा सहज मार्गभन्दा संघर्षको बाटो रोजेको स्पष्ट पारे। विशेष महाधिवेशनको सन्दर्भ उल्लेख गर्दै उनले सबैको साथ नपाएको भए आफू आज पार्टीबाट निष्कासित सदस्यका रूपमा उभिनुपर्ने अवस्था आउन सक्थ्यो भने।
‘मैले सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ,’ थापाले भने, ‘पाँच वर्षका लागि पार्टीबाट हटाइएपछि विशेष महाधिवेशनमा साथीहरूको साथ नपाएको भए म आज कांग्रेसको निष्कासित सदस्यकै रूपमा यहाँ उभिएको हुन्थें।’ उनले आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै आफ्नो संघर्ष जारी राख्ने अठोट व्यक्त गरे।
सभापति थापाले सहज अवस्थामा बस्ने विकल्प भए पनि त्यसलाई अस्वीकार गरी आफ्नो लडाइँ लड्ने बाटो रोजेको बताए। ‘सजिलो ठाउँमा बसेर राजनीति गर्ने मेरो रोजाइ होइन,’ उनले भने।
त्यसैगरी, कांग्रेस पार्टी निर्माणमा मधेशको निर्णायक भूमिका रहेको उल्लेख गर्दै यसपटक आँट र जोखिम लिएर आफूलाई मधेशसँग जोडेको बताए। उनका अनुसार राष्ट्रिय नेता बन्न राष्ट्रिय पार्टीको नेतृत्व मात्र पर्याप्त हुँदैन, सम्पूर्ण देशको प्रतिनिधित्व गर्ने भावना पनि आवश्यक हुन्छ।
‘राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुँदैन,’ थापाले भने, ‘सिंगो राष्ट्रको अंश आफैँभित्र राख्न सक्नुपर्छ। कांग्रेसलाई मधेशले नै बनाएको हो, त्यसैले यसपटक जोखिम लिएर भए पनि आफूलाई मधेशमा समर्पित गरेको हुँ।’
उनले एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरेपछि मात्र आफूलाई साँचो अर्थमा नेपालको राष्ट्रिय नेता बन्न सक्ने विश्वास रहेको पनि बताए। त्यसका लागि मधेशमै पुगेर स्थानीय जनतासँग घुलमिल हुने र सँगै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार












प्रतिक्रिया