निर्वाचन आयोगको निर्देशनपछि चन्द्रागिरि नगरपालिकाको एउटा वडाले आयोजना गरेको साडी बाँड्ने कार्यक्रम रोकिएको छ।निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै वडा नम्बर ८ ले शनिबार महिलाहरूलाई साडी बाँड्ने कार्यक्रमको आयोजना गरेको थियो।

शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको छ।

‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

आयोगका सहसचिव यज्ञ भट्टराईले वडाध्यक्ष खड्कालाई फोन गरेर मौखिक निर्देशन दिएको बताए।‘हामीले मौखिक निर्देशन दिइसकेका छौं। सम्बन्धित वडाध्यक्षलाई फोन गरेर तुरून्त स्थगित गर्न भनेर कडा रूपमा मौखिक निर्देशन भएको हो,’ उनले भने, ‘लिखित पत्र प्रमाणसहित राखेर पठाउँछौं।’तर वडाले पुन: अर्को सूचना जारी गर्दै त्यस सूचनाको खण्डन गरेको छ। त्यस सूचनामा साडी वितरण गर्ने आयोजना नगरिएको उल्लेख छ।

सूचना जारी गरेको पुष्टि गरे पनि सो कार्यक्रम नगरिएको वडा सदस्य कृष्णमाया पुर्कोटीले बताइन्।  ‘कार्यक्रम थिएन। हाम्रो एउटा म्यामको सानो मिस्टेकले गर्दा त्यस्तो भएको हो,’ उनले भनिन्, ‘सूचना पनि आएको हो। गर्नुपर्ने पनि हो। आचारसंहिता लागेर त्यस्तो गर्न नमिल्ने भएको पनि हो तर वडा सचिवज्यूको एउटा सानो मिस्टेकले गर्दा त्यस्तो भएको हो। हामीले पनि सोध्दैछौं।’

यसअघि वडा सदस्य सविना राउतले साडी बाँड्ने कार्यक्रम राखिएको पुष्टि गरेकी थिइन्।

यस कार्यक्रममा उपस्थित हुन हिजो नै आफूलाई वडा सदस्य कृष्णमाया पुर्कोटीले जानकारी दिएको उनले बताएकी थिइन्। तर त्यसमा आफू उपस्थित नभएको राउतले बताएकी थिइन्। उनका अनुसार २८ वटा समूहका महिलाहलाई ७०० बढी साडी बाँड्न लागेको थियो।‘प्रत्येक आमा समूहको दिदी बहिनीहरूलाई आज बाँड्दैछन्। समूहमा म पनि छु तर म चाहि जाँदिनँ,’ उनले भनेकी थिइन्, ‘हाम्रो २८ वटा समूह छ। त्यहाँ भएका महिला दिदी बहिनीहरूले पाउने हुन्। ७ सय बढी महिलाहरूले पाउँदै हुनुहुन्छ।’

वितरण गर्न दुई सय बढी साडी एक महिनाअघि नै ल्याएको उनले बताइन्। बाँकी साडी भने पछि मात्रै ल्याएको उनले बताइन्।प्रत्येक साडी एक हजार २५० रुपैयाँका दरले किनेको उनले बताएकी छन्।

‘साडी अर्डर गर्न जाँदा म पनि गएकी थिएँ। सबै साडी ल्याइसकेको छ,’ उनले भनिन्, ‘२८ वटै समूहका सदस्यहरूको नागरिकताको फोटोकपी, समूहको फाइल पनि आएको छ। वडाले नै समूहका प्रत्येक महिलालाई दिने भनेर कुरा राखेका थियौं।’उनका अनुसार वडाध्यक्ष खड्का यसपालि पनि वडाध्यक्षका दाबेदार हुन्। उनी २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए।

 

 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com