धनुषा । नागरिकता अभियोगमा धनुषा हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप अध्यक्ष कैलाश सिरोहियाले अदालतमा आफूले दिएको बयानबारे जानकारी गराउँदै प्रष्टीकरण सार्वजनिक गरेका छन् ।

उनले आफूले प्राप्त गरेको नागरिकता प्रचलित कानुनबमोजिम राज्यको निकायबाट प्राप्त गरेको भए पनि यति बेला विवादमा ल्याउनुका पछाडि गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेका शृंखलाबद्ध गल्तीहरुबारे लेखिएका रिपोर्टिङविरुद्ध साँधिएको प्रतिशोध मूल कारक रहेको बताएका छन् ।

सिरोहियाका १० प्रतिवाद

  • १.कसैको प्रतिशोध र इसारामा इन्द्रजितप्रसाद महतोले जाहेरी दिएका हुन् भन्ने मेरो दाबी छ, गृहमन्त्री लामिछाने र रास्वपा सांसद मनीष झासँग एउटै टेबलमा बसेर छलफल गरिरहेको फोटो सार्वजनिक भएपछि मात्र उनलाई मैले देखेको हुँ ।
    २.मैले एउटा मात्र नागरिकता लिएको छु, दुई–तीन थरी नागरिकता बनाएको हल्ला गरेर जनसमुदायलाई भ्रमित पारिएको छ तर प्रहरी र सरकारी वकिलले ममाथि यस्तो आरोप लगाएका छैनन् ।
    ३.मैले प्राप्त गरेको नागरिकता सुरक्षित राखेर सदुपयोग गर्ने मेरो दायित्व हो । राज्यका अभिलेखमा पहुँच भएका कसैको लापरबाही वा दुर्नियतले सरकारी अभिलेख (ढड्डा) तलमाथि हुन्छन् भने त्यसको सम्पूर्ण दायित्व सम्बन्धित निकायले लिनुपर्छ ।
    ४.नागरिकतामा नम्बर राख्ने क्षेत्राधिकार मेरो होइन, अरू कसैको नम्बरसँग मिलेको छ भने त्यसको जवाफदेही म होइन । मेरो नागरिकता प्रमाणित गर्ने अधिकारीको हस्ताक्षर र मिति छैन भन्ने हल्ला गरिएको छ, सबै विवरण मेरो नागरिकतामा छन् ।
    ५.म पिताजीले नागरिकता प्राप्त गरेपछि जन्मिएकाले वंशजको नागरिक हुँ, पिताजीले नागरिकता प्राप्त गर्नुअघि र पछि जन्मिएका सन्तानको नागरिकताको प्रकार पनि कानुनअनुसार फरक भएको होला, जसको जवाफ कानुन र सरकारले दिन सक्छ ।
  • ६.२०१९ साल मंसिर २९ मा मेरो जन्म भएको हो, २०३६ भदौ २५ मा नागरिकता लिएको हुँ, उमेर कति लेखियो भन्ने अधिकार प्राप्त अधिकारीले जान्ने विषय हो, मेरो इच्छा र रोजाइले लेखाउन पाउने विषय होइन ।
    ७.मेरो नागरिकतामा फाँटवालाले उमेर १८ वर्ष लेखेकामा प्रमाणित गर्ने अधिकारीले कोष्ठभित्र २०१९/०८/२९ भनेर थप स्पष्ट पारेका रहेछन्, थपिएको अक्षरलाई दुवैतिर हस्ताक्षरले बन्द गरिएको छ, जसमा रातो मसी प्रयोग भएको छ । फोटोकपी पाएका केही व्यक्तिले हस्ताक्षरलाई केरमेट भनी प्रचार गरेका छन् ।
    ८.पत्र काटेर बोलाएको भए म नागरिकता बोकेर आफैं उपस्थित हुने थिएँ, एक्कासि म अध्यक्ष रहेको सञ्चारमाध्यमको कार्यालयमा हतियारधारी प्रहरी परिचालन गरेर पक्राउ गरिएको छ, यो राज्यशक्तिको चरण दुरुपयोग हो ।
    ९.यो कैलाश सिरोहियाको नागरिकताको विवाद हुँदै होइन, गृहमन्त्री रवि लामिछानेको दोहोरो नागरिकता, दुई देशका पासपोर्ट र सर्वसाधारणले गाँस कटाएर सहकारीमा बचत गरेको रकम हिनामिनाको समाचारमाथिको प्रतिशोध मात्र हो ।
    १०.राहदानी दुरुपयोग अनुसन्धानको विषय गृह मन्त्रालयअन्तर्गत पर्छ तर दुई देशका राहदानी बोकेर हिँडेका लामिछाने यो देशको गृहमन्त्री भएका छन् र सार्वभौम नागरिकलाई तर्साउने प्रयास गरिरहेका छन् ।
  • (कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका कानुन व्यवसायीले जनकपुरमा सार्वजनिक गरेको वक्तव्यको संक्षिप्त अंश)

 

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com