अध्यापक नारायण नेपालले आफ्नो भोगाई सहितलाई आधार बनाएर लेख्नुभएको आलेख । 


निजी अस्पतालमा चर्को शुल्क हुन्छ र औषधि पनि धेरै थमाइन्छ अनि महङ्गो ! त्यसैले त म सरकारीमै जान्छु। अलि छिटो गइयो भने पालो आइहाल्छ । कतिपय औषधि निशुल्क पाइन्छ कतिको पैसा पर्छ । उही एक्सरे गर्नुपर्‍यो, सीटी स्क्यान गर्नुपर्‍यो भने त हो नि कुराइने । नत्र पुराना डक्टर हुन्छन्, भव्य उपकरण हुन्छन् । त्यसैले सेवा भरपर्दो पनि हुन्छ ।

सरकारी र टिचिङ अस्पतालमा मुख्य डक्टर त थपना मात्रै हुन्छन् । रोगी बुझ्ने र रोगको निदानको काममा सिकारु विद्यार्थीलाई अगाडि सारिन्छ र लगभग उनीहरूकै जिम्मामा रोगी यानि बिरामीले उपचारको सपना देख्नुपर्ने हुन्छ । कि त उनीहरू सम्बन्धित राजनीति दलको कार्यक्रममा हुन्छन् कि अर्को केन्द्रमा भत्ता हाजिरतिर । समय लाग्छ अनि कतिपय अवस्थामा बिरामी उपचार नपाइ अस्ताउनुपर्ने हुनसक्छ । फेरि ओखतीमूलो, दबाइ तथा औषधि जे भनेपनि सटीक सम्बोधन प्राश्नीय रहने सुनेको छु । हुनपनि औषधि विज्ञानका विद्यार्थी उत्पादन गर्ने संस्थाका रूपमा त्यस्ता संस्थाहरू ज्यादाजसो खोलिने र सञ्चालन गरिने हुँदा बिरामी त प्राय: गिनिपिग बनाइँदा छन् र यसरी कसैको जिन्दगीसित खेल्ने काम भइरहेको हो कि हुन्छ मलाई त । त्यसैले जति परे पनि निजी अस्पताल जानुको विकल्प छैन ठान्छु ।

मिसन अस्पताल प्राय: आस्थाको खेलकेन्द्रजस्तो चलाइएको हो कि लाग्नेगरी एकखाले बिरामीको सुविधासहित विशेष निगरानीमा उपचार गरिन्छ अरे भने अर्को आस्था समूहका बिरामीलाई महङ्गो औषधि थमाइन्छ र कमचासोमा उपचारको प्रक्रिया पुर्याइन्छ । फेरि झूटमुटमा आशातीत समूहको भनाएर पनि आकर्षणको तुरुप चलाइन्छ । यस्ता र त्यस्ता झमेला सुन्नु ब्यहोर्नुभन्दा बरु म त सामुदायिक अस्पताल जान पो ईष्टजनलाई सल्लाह दिनचाहन्छु । सामुदायिकमा त निजीमा जस्तो महङ्गो नपर्ने अनि सरकारीको जस्तो जथाभावी पहुँचको राजनीति साँध्नुनपर्ने । कमाउनु छैन नि यस्ता औषधालयलाई र अस्पताललाई । त्यसैले छिचोलेर हेर्छन्, रोगको प्रकृति केर्छन् अनि उपचारपद्दति अगाडि बढाउँछन् । म त सारोगारोमा सामुदायिक स्वास्थ्यकेन्द्रलाई नै पहिलो रोजाइको गन्तव्य बनाउने गरेको छु ।

तीन फरक पेशाका व्यक्तिले व्यक्त गरेका माथिका विचारलहरीले ठूलो असमञ्जस्य सिर्जना गर्ने प्रष्ट छ । स्वास्थ्यसँग सम्बन्धित आधारभूत कुरामा राज्य फिस्लिएको अवस्थामा निजी क्षेत्रको मनोमानी अवस्य बुझ्नसकिन्छ । निजी क्षेत्रसँगको साँठगाँठ कतिपय नेतावर्गको फाइदाको काइदा पनि रहेको बुझिन्छ । नियामक निकायका दलीय साझेदार सदस्यहरू अनेकन बहानामा कमाउने धन्दामा रहेको भन्ने समाचार पनि यदाकदा सुन्नमा आइरहेबाट पनि सर्वसाधारण धेरैको चासोको बिषय हुनेगरेको छ स्वास्थ्य सेवाको क्षेत्र । एकातिर चासो चर्को रहन्छ भने अर्कोतिर सही समाचार सम्प्रेषण कम रहन्छ । प्राय: पत्रकारहरू प्रायोजित समाचार बनाउने गर्छन्, दल छ, व्यापारिक संस्था छन्, विदेशी दाताको सम्यन्त्र छ यानि खेमा छ र समाचार पनि खेमागत हुनेगरेको तथ्य जगजाहेर छ ।

अलिकति राम्रो उपलब्धीलाई चढाइबढाइ गर्न र निहित गलत रबैयाको ढाकछोप गर्न उद्द्यत अधिकांश सञ्चारकर्मीले समय खर्चिनेगरेको भेटिनु विडम्बनापूर्ण मान्नुपर्छ । विशेष लाभ हुने क्षेत्रका खबर विशेष सम्प्रेषणमा परीआएका छन् पनि । ‘सर्वजन हिताय सर्वजन सुखाय’को प्राचीन चिकित्सा तथा औषधीय धेय सायद सम्झिएर कामगर्ने गराउने सम्यन्त्र विकासमा सरोकारी सबै लाग्न ढिलो भैरहेको छ । नत्र कमाउ स्वास्थ्य पद्दतिले सर्वसाधारणको जीवनमा घातमाथि घात गर्दैरहने छ र न्यायका लागि उठ्ने आवाज सडकमै पोख्नुपर्ने वा धर्नाजुलुसकै रूप लिइरहने निश्चित छ । स्वास्थ्यजस्तो जीवनको आधारभूत नैसर्गिक पाटोमा राज्यस्तरबाटै केही ठोस नीतिले बाँध्न जरुरी छ र लूटको छूटमा चङ्गुल कस्नुपर्छ।

चलिरहेको विद्युतीय प्रसारको प्रयोगको होडबाजी बेग्लै रमाइलोको बिषय भएको तथ्य छ स्वास्थ्यक्षेत्रमा पनि । अनलाइन चिकित्साका नाममा जथाभावी स्वास्थ्य पोर्टल चलीआएका छन् नै । आफ्नो क्षेत्रमा दख्खल राख्नेभन्दा जथाभावी भिउ बढाउने भिडियो बनाउने चिकित्सक र कथित विज्ञहरूको बिग्बिगीले जनमानसमा अन्योल थप्दोछ । मुटुको डक्टर मुटुले बोल्छु भन्ने र कलेजोको डक्टरले म कलेजोले पढ्छु भन्नेजस्ता श्रव्यदृश्य सामाग्री खुब चलेका छन्। यिनै रटान सही मान्दिने हो भने जिब्रो र मुखको डक्टर वा वैद्यले के भन्नेहुन् भन्ने कतिपयको जिज्ञासा आम छ आज । मान्छेका सम्वेदना हिर्काउने खुराक सम्प्रेषणमा सम्बन्धित सबै सचेत हुनुपर्ने हो । रक्तचापको भिडियोमा भाइरल न ब्याक्टेरिअल एक चिकित्सक उनको क्लिनिकमा बिरामी काम आउनथालेको कुरालाई स्वास्थ्य सुधारले सेवाग्राही कम हुनसक्ने कुरा खोजीमा लाग्नु र सकारात्मक सन्देश दिनुभन्दा धेरै मानिसमा स्वास्थ्यचेतना नभएको र नियमित स्वास्थ्य परीक्षणमा उनीहरू आउनछाडेकोतर्फ ज्यादा खबरदारी गर्छन्। कुरो दुवै हुनसक्छ । सामान्य ज्वरो लाद्गा आफ्नै देशका नेता विदेसिने गरेको तथ्यले सरकारी सुविधा हत्याउने सोचमात्र सङ्केत गरेको होइन भन्नेहरू प्रसस्तै छन् । आफ्ना अस्पताल स्तरीय नभएको र स्वदेशी चिकित्सक भरपर्दा नठानिएको सत्यता पनि त्यसमा बुझिनुपर्ने हो । यसरी, आफ्नै नेताले विश्वास गर्ननसक्ने डक्टर यानि चिकित्सकलाई सर्वसाधारण जनले विश्वास गरिदिनुपर्ने हुइँयाँ चलाइनु धेरैलाई हास्यास्पद पनि लाग्नेगरेको बुझिन्छ । यहाँनेर यथोचित विश्वासनीय सेवा प्रक्षेपण पङ्क्तिकारको आग्रहमा रहेको बुझिने विश्वास छ ।

यस्तो पनि घटना छ कि कोही अन्तराष्ट्रिय चिकित्सक हुँँ भन्ने कोही डक्टरले कहलिएको सामुदायिक अस्पातलमा आएका बिरामीले आफूले तोकेकोबाहेक अन्यत्रबाट औषधि खरिद गर्छन् र आफ्नो खल्ती कमहुन्छ भन्ने ध्येयले बिरामी र तिनका कुरुवालाई पाल्तु डन बोलाएर अपहरण शैलीमा उनको फार्मेसी पुर्याएका छन् । ती कुरुवाले अरू दुईचार जना उसैगरी फन्दामा पारिएको देखेको यथार्थ पङ्क्तिकारसमेतले भोगेको सत्यनजिक छ । दुई-तीन सयभन्दा बढी शुल्कको औषधि सुझाइएका बाध्यकारी ग्राहकहरू यसरी निरीह पारिने गरेको निन्दनीय छ । स्वास्थ्य क्षेत्र वास्तबमै सरकारको उचित नियमन अनि निगरानीको विशेष प्रतीक्षामा छ । सरकारी अस्पतालमै कमशुल्क र बढीशुल्कको उपचार सेवा रहेको परिप्रेक्षमा धेरै लेखीरहन परेन तथापि विद्यमान स्वास्थ्य विसङ्गतिप्रति चासो साझागर्न वाञ्छनीय ठानिएको हो । सर्वसाधारणको चेतनाका लागि अनि सरोकारवालाको सुधारात्मक पहलकदमीका लागि केही तिता तर तथ्यलाषक खुराक यहाँ राखिएको छ ।

  • निशुल्क चिकित्सासेवा भनिएका ठाउँंमा औषधिजति अन्तै खरिद गर्न भनिन्छ ।
  • स्वास्थ्यबिमाको अवधारणाले अझ जिम्मेवारीपूर्वक गरिने सेवामूलक दायित्वको मूर्तरूप लिन जरुरी छ ।
  • निशुल्क एम्बुलेन्स भनिएकामा भनेका बेला उपलब्ध नहुने र एउटाले अर्को देखाउने अवस्था सोचनीय छ ।
  • चिकित्सा अध्ययनका नाममा जथाभावी विद्यार्थी तथा सोधार्धीहरूको जिम्मामा बिरामी छोडिनुहुन्न भन्ने आफन्तको माग ध्यानाकर्षणमा रहनेगरोस् ।
  • निश्चित रोग किटान गरी उपचारको मानवीय बाटो अवलम्बनमा आनाकानी तथा अन्सुझी नगरियोस् । हचुवाका भरमा झोलाभरी औषधि भिडाउने गरिएको भन्नेजस्ता गुनासा कमगर्ने उपाय अपनाइयोस् ।
  • जथाभावी केरमेट गर्ने र नबुझिनेगरी औषधिको नाम लेखिने परीपाटी हावीरहेसम्म सही उपचार सम्भव नहुने जनगुनासो खोजको बिषय किन नबनाइने ?
  • कुनै स्वास्थ्य समस्यामा एकै सूत्रका फरक-फरक औषधि पाइनेमा आफ्नो कमिसनको लोभमा एकै औषधिको मात्र बाध्यकारी बिक्रिको एजेन्सी नचलाइयोस् । डक्टरले सुझाएको औषधि पाउन नसकी बिरामीको अवस्था झनै खराब भएको सुनिने अवस्थाप्रति सम्बन्धित सबै उत्तरदायी अनि जवाफदेही रहनै पर्छ । कसैको दुई सयको कमाइ सुनिश्चित गर्दा कसैको ज्यानजानेसम्मको खतरापूर्ण रबैया स्वास्थ्यक्षेत्रमा रहनु विडम्बनापूर्ण !
  • उपचार सम्भावना कम भएका आफ्ना स्वास्थ्यकेन्द्रमा आएका बिरामीलाई यथाशिघ्र सम्भावित अर्को उपचारकेन्द्रको सुझावमा ढिलासुस्ती गरी आर्थिक लाभका लागि झुलाउने राख्ने र खर्च बढाइदिने गरेका गुनासाप्रति सम्बन्धित सबैको ध्यान जान ढिलो नहोस् ।
  • अध्यापक नारायण नेपाल, समसामयिक, राजनितीक तथा साहित्यक क्षेत्रमा कलम चलाउँछन्।

प्रकाशित मिति: १८ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com