काठमाडौं । झापाको विर्तामोडमारहेको प्रभु बैंकबाट एकजना बचतकर्ताको १ करोड १९ लाख रकम हराएको छ । रकम अपचलन गर्ने सोही शाखाका कर्मचारी मार्केटिङ म्यानेजर प्रमोद सिटौला बुधबारदेखि हराएका छन् । प्रभु बैंकमा ग्राहकले राखेको एक करोड १९ लाख रकम लिएर बैंककै कर्मचारी सिटौला बुधबार खातावालालाई भेटेर फरार भएको पीडित पक्षले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मञ्जु नेपालका नाममा रहेको प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो एक करोड १९  लाख रकम गायब गरिएको सम्मेलनमा जानकारी दिए । रकम जम्मा गर्ने टीकाराम नेपाल सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता पनि हुन् । उनकी श्रीमती मञ्जु नेपालको नाममा जम्मा गरेको एक करोड १९ लाख कर्मचारीले नै हिनामिना गरेका हुन् । कर्मचारी सिटौला अहिले बेपत्ता भएका छन् ।

टीकाराम श्रीमती मञ्जुसहित केही समय अघि आफ्ना छोराहरूलाई भेट्न अमेरिका गएका थिए| अमेरिका जानु अघि आफ्नो श्रीमतीको नाममा जम्मा भएको पैसाको निस्सा माग्दा सिटौलाले निकै बहानाबाजी गरेका थिए । सिटौलाले एक करोड १९ लाख जम्मा भएको लिखित निस्सा उपलब्ध गराएका थिए । तर, त्यसमा गडबडी देखियो । उक्त रकममध्ये एक करोड १० लाख फिक्स डिपोजिट गराएर नेपाल अमेरिका गएका थिए ।

यो ठगी मुद्दा भएकाले प्रहरीले जाहेरी परेका ठगीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा उल्टै सीईओ अशोक शेरचनको निर्देशनमा बैंकले केन्द्रबाट छानविन टोली पठाएर अनुसन्धानलाई नै प्रभावित पार्न खोजिएको बताइएको छ । झापा शाखाका म्यानेजर बराल सीईओ शेरचन निकट कर्मचारी हुन् भने बरालसँग मार्केटिङ म्यानेजर रहेका प्रमोद सिटौलाले सेटिङमा काम गर्दै आइरहेका थिए ।

स्रोतका अनुसार सिटौला फसेको खण्डमा बराल पनि तानिने भएपछि सिटौलालाई रहस्यमय ढंगले फरार बनाइएको छ । शाखा प्रमुख बराललाई भने शेरचनको विशेष कृपा रहँदै आएको छ । बैंकका म्यानेजर बराल भने गायब भएको रकमको जिम्मा आफूले लिनु त कता हो कता उल्टै सवा करोड गायव भएको घटना मुख्यालयमा जानकारी गराइएको र बिहीबार केन्द्रबाट छानबिन टोली आएर सत्यतथ्य विवरण बाहिर ल्याउने बताएर पन्छिन खोजिरहेका छन् ।

हुन त प्रभु बैंकका लागि रकम अपचलन र दुरुपयोगका घटना नौलो होइन । तत्कालीन ग्राण्ड बैंक सँग मर्ज हुँदा २ अर्ब ९० करोड कर्जा नोक्सानी भएको विषयपनि प्रभु बैंकले लुकाउदै आएको छ। यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले गोप्य रुपमा अनुसन्धान गरिरहेको छ। सिआईबीले बैंकलाई जाहेरी दिन पटक-पटक आग्रह गर्दा पनि शेरचन आफै फस्ने कारण जाहेरी दिन मानिरहेका छैनन्।

 

 

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com