काठमाडौं । ग्राहकलाई एकपछि अर्को गर्दै झुक्याउँदै आएको प्रभु बैंक लिमिटेडले झापाको बिर्तामोड शाखाबाट झापाकि मन्जु कुमारी नेपालले राखेको १ करोड १९ लाख फिक्स डिपोजिट रकम हराएको विषयमा अर्को अपत्यारिलो झूट बोलेको छ ।

बैंकले उक्त रकम जम्मा गर्दा दिएको रसिद अहिले आएर नक्कली भएको दावी गरेको छ । बैंकमा पैसा जम्मा गरेपछि आफैंले दिएको रसिदलाई बैंकले आफ्नो नभएर नक्कली भएको दावी गरेको हो ।

प्रभु बैंकको झापास्थित बिर्तामोड शाखामा कार्यरत बजार प्रबन्धक प्रमोद सिटौलाले मञ्जु कुमारी नेपालले राखेको फिक्स डिपोजिट खातामा राखेको १ करोड १७ लाख रकम हिनामिना गरेका थिए। उक्त रकम अपचलन भएपछि बैंकले आफूले दिएको रसिद पनि नक्कली भएको दावी गर्दै बैंकको कार्यकारी बोर्ड नै अहिले सिटौलाको बचाउमा लागेको देखिन्छ।

बैकमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत सिटौला भने अहिले फरार छन् । बैंकमा कार्यरत सिटौला फरार भएका कारण घटनाका विषयमा अनुसन्धान भइरहेको समयमा बैंकले आफूले दिएको रसिद नै नक्कली भएको दावी गरेको हो। तर, प्रभु बैंकको यो झूट सही नहुने बैंककै कर्मचारीहरू बताउँछन् । बैंकले मञ्जु कुमारी नेपालको खातामा रहेको भनिएको मुद्दती निक्षेपको रकम नभएको र उक्त खातामा जम्मा गरिएको रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट पनि नक्कली भएको जनाएको छ ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त मुद्दती खाताको रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभएर नक्कली रहेको जनाएको हो । यता, मञ्जु कुमारी नेपालले बैंकमा रहेको आफ्नो खातामा जम्मा गरिएको अवधि सकिएपछि रकम फिर्ता माग्न जाँदा बैंकले खातामा रकम नभएको जवाफ दिएको थियो ।

बैंकले दिने व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट कसरी नक्कली बन्यो भन्ने कुराले बैंकले नक्कली व्यालेन्स सर्टिफिकेट बनाउने काम गरिरहेको कुरा प्रभु बैंककै विज्ञप्तिले नै पुष्टि पनि गर्न खोजेको छ । बैंकको नाममा जम्मा गरिएको मुद्दती निक्षेपको रसिद नक्कली भन्ने झुटो कुराले बैंकलाई नै अप्ठ्यारो पार्ने देखिन्छ।

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com