चितवन — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कम्तान सन्दीप लामिछाने शुक्रबार गृह जिल्ला चितवनमा सम्मानित भएका छन् । चितवन जिल्ला क्रिकेट संघले कप्तान सन्दीपको सम्मानमा भरतपुरमा कार्यक्रम गरेको थियो । संघका कार्यबाहक अध्यक्ष सुदीप पिया, सचिव उमेश पियालगायतले चितवनको चिनारी गैंडा उपहार दिँदै सम्मान गरेका थिए ।

चितवनले पहिलोपल्ट राष्ट्रिय क्रिकेटको कप्तानी गर्ने अवसर पाएको खुसीयालीमा उनलाई सम्मान गरिएको अध्यक्ष पियाले बताए । उनले सन्दीपको सफलताले चितवनका खेलाडीमा उर्जा थपेको सुनाए । भावी दिनमा चितवनका धेरै खेलाडी राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने विश्वास बढेर गएको पियाको भनाइ थियो ।

सन्दीपको मिहिनेतले उनी यो स्थानमा पुगेको हुँदा अरू खेलाडीलाई अझै मिहिनेत गर्न पियाले सुझाए । गृह जिल्लाको संघको सम्मानबाट आफूलाई हौसला मिलेको सन्दीपले बताए । खेलजीवनमा यस्ता सम्मानले उत्साह थप्ने उनको भनाइ थियो । उनले जिम्बावेसँग एकदिवसीय र ट्वान्टी–२० शृंखला हुन थालेको जानकारी दिए ।

यो शृंखलाले विश्वकप लिगमा हुने प्रदर्शनका लागि थप सहयोगी बन्ने उनले बताए । जिम्बावे ‘ए’ टिम भनिए पनि सबै राष्ट्रिय खेलाडीको उपस्थिति रहने भएकाले उनीहरूसँग हुने खेलले विश्वकपका लागि राम्रो तयारी पुग्ने उनको भनाइ थियो । सन्दीप चितवन नारायणगढको क्याम्पाचौरबाट क्रिकेट सिक्दै राष्ट्रिय टिमसम्म पुगेका हुन् ।

उनी इन्डियन प्रिमियर लिग खेल्ने पहिलो र एकमात्र नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीपको घर रत्ननगरमा छ । रत्ननगरमा बस्नुभन्दा पहिले उनी नवलपुरमा दिदीको घरमा बसेर क्याम्पाचौरमा क्रिकेट प्रशिक्षण लिन आउँथे । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्काको प्रशिक्षकत्वमा उनले प्रशिक्षण लिएका हुन् ।

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com